Logo

Breaking News 1

काँडाघारी प्रहरी कार्यालय डुबानमा, तीनवटा मोटरसाइकल बाढीले बगायो



काठमाडौं । काठमाडौं उपत्यकामा गएराति परेको वर्षा र बाढीले प्रहरी प्रभाग काँडाघारीको भवन डुबानमा परेको छ । बाढीले कार्यालयका सामानसमेत बगाएको छ ।

कार्यालय भवनको एक तल्लाको पुरै भाग डुबाएको र मेसमा रहेका खाद्यान्न, फर्निचर लगायतका सामान बगाएको प्रहरीले जारी गरेको बुलेटिनमा उल्लेख छ । प्रहरीका अनुसार कार्यालयको पछाडि पार्किङ गरेर राखिएका तीनवटा मोटरसाइकल पनि बाढीले बगाएको प्रहरीले जनाएको छ ।

कम्प्युटर, इन्टरनेट, सन्चार उपकरणको बेस सेटले काम नगरेको र बत्ती नहुँदा कार्यालयको फोनसमेत बन्द भइसकेको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गएराति काठमाडौंमा ठूलो पानी परेको थियो । त्रिभुवन विमानस्थलको रेकर्ड अनुसार आज बिहान ६ बजेसम्म ७५.१ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम विज्ञान विभागले काठमाडौंमा ठूलो पानी परेकाले बागमती लगायतका नदी र खोलाहरुमा बाढीको खतराको सूचना गएराति नै जारी गरेको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ७ : ४६ बजे