Logo

समाचार

परिवर्तन गाउँपालिकाको योजनामा विद्यालय समायोजनको नीति अगाडि बढ्ने



रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिका भित्र रहेका च्याउ उम्रेका जसरी स्थापना भएका विद्यालयहरु समायोजन नीति अगाडि बढ्ने भएको छ ।आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यमा समावेश भएअनुसार जनसमुदायको ईच्छा र चाहना सहितको सुझाव तथा सल्लाहमा परिवर्तन गाउँपालिकाको योजनामा विद्यालय समायोजनको नीति अगाडि बढाउने गाउँपालिकाले जनाएको छ । समायोजन हुने विद्यालयको हकमा प्रावि/प्रावि समायोजन हुने हकमा रु.१० लाख रहेको छ भने प्रावि/निमावि समायोजन हुने हकमा रु.२० लाख रहेको छ । त्यसैगरी निमावि/मावि समायोजन हुने हकमा रु.३० लाख रहेको छ भने मावी/मावि समायोजन हुने हकमा रु.५० लाख अनुदानको व्यवस्था गरेको बताइएको छ ।

यसरी विद्यालय समायोजन नीति अगाडि बढ्ने भएपछी कार्यान्वयन केही चुनौती सिर्जना हुने धेरैको विश्लेषण छ । ‘आफू त्यो ठाउँमा हुने हो भने धेरै सम्भव देख्छु, कार्यान्वयन गराउने पक्षले कसरी छलफलमा लग्छ भन्ने कुरा हो र पृथ्वीनारायण शाहलाई पनि २४ सय २२ राज्य एकीकरण गर्न गाह्रो भएको थियो होला यो त झन विद्यालय हो ।’ नेपाल राष्ट्रिय नमूना मावि थप प्राविधिक तथा व्यवसायीक विद्यालय परिवर्तन गाउँपालिका ५ राङकोटका प्रधानाध्यापक गोपाल बहादुर केसी भन्छन् । केसीले यसको कार्यान्वयनको बाधक भनेकै जनप्रतिनिधि र शिक्षक भएको टिप्पणी गरे । ‘मेरो पालामा उताको विद्यालय हराउँछ जनप्रतिनिधिको बुझाई, शिक्षक पनि १० जना १५ जनाले हल्लाएको, ठग्न बानी बसेको उनीहरूले पनि नमान्ने, कोही डराएर कोही ठग्ने बानी परेर समायोजनमा समस्या हुनसक्छ अरु सबै समाधान हुन्छ ।’ उनले भने ।

सबै हिसाबले समायोजन हुनु राम्रै पक्ष देखिन्छ तर भौगोलिक विकटता हेर्दा र अभिभावक, जनताले मान्ने कुरा गाह्रो भएको जनसेवा नमूना माध्यमिक विद्यालय परिवर्तन गाउँपालिका २ राङ्सीका प्रधानाध्यापक भिम प्रकाश पुन मगरको भनाइ रहेको छ । पुनले पनि कार्यान्वयन पक्ष जटिल रहेको टिप्पणी गर्दै भने– ‘पहिलो कुरा त अभिभावक सहमति हुनुपर्ने हुन्छ, अभिभावकले हाम्रो विद्यालयमा बालबालिका कम भएर चल्न नसक्ने भयो र हामी समायोजन गर्छौं भनेपछी मात्र समायोजन हुनसक्छ । अभिभावकले मान्नु हुन्न जस्तो लाग्छ ।’ धेरै दु:ख कष्ट गरेर विद्यालय खोलेको र बनाएको भौतिक संरचनालाई हटाएर अर्कोमा समायोजन हुन अभिभावकले नमान्ने समेत बताए ।

त्यस्तै नेपाल शिक्षक महासंघ परिवर्तन गाउँपालिका अध्यक्ष मन प्रसाद पुनको भने फरक बुझाई र टिप्पणी रहेको छ । ‘गाउँपालिकामा शिक्षा क्षेत्रमा भएको लगानी र विद्यालय संख्याको आधार मान्ने हो भने यति धेरै आवश्यक छैन र समायोजन गर्नु नै उपयुक्त विकल्प हो ।’ पुनले भने, ‘कहाँ आवश्यकता हो कहाँ आवश्यकता होइन त्यो जनसमुदायबाट बृहत रूपमा जनचेतना सबै जनप्रतिनिधि,सबै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगाएत सबैको बृहत छलफल मार्फत एक ड्ढिका भएर अगाडि बढ्न सकियो भने असम्भव भन्ने हुदैन ।’ अहिले निर्वाचित भएका जनप्रतिनिधिले समायोजन गर्नुपर्ने आवश्यकता रहेको बताए र समायोजनको अभियान चलाउदा केही आलोचना पकै खेप्नुपर्ने पुनको भनाई रहेको छ ।

आफूहरूले विद्यालय समायोजन नीति लिएको र अनिवार्य समायोजन हुनुपर्छ भन्ने धारणा नभएको, त्यो विद्यालयहरुको ईच्छा चाहना अनुसार अगाडि बढ्ने परिवर्तन गाउँपालिका प्रवक्ता हरिप्रसाद बुढा मगरको भनाइ रहेको छ । बुढाले भने ‘हामीले विभिन्न प्याकेज कार्यक्रम लिएका छौँ, विद्यालयहरु आफ्नो सहस्तामा एक अर्कोमा गावीण आफ्नो सरसल्लाहमा गावीए भने त्यसको लागि खुल्ला नीति बनाएका छौं ।’

‘विद्यालय, जनसमुदाय विद्यालयको सेवा क्षेत्र रहेको र उहाँहरुले पनि हामी मर्ज गरेर विद्यालय चलाउ भनेर आउनुभयो भने हाम्रो क्षेत्रबाट खुल्ला बहस चलाएर टाढा–टाढा रहेका विद्यालयको व्यवस्थापन गर्न नसकिएको, समायोजन भएपछी आर्थिक व्यवस्थापन, जनशक्तिको व्यवस्थापन, मानव व्यवस्थापन तथा भौतिक संरचनाको व्यवस्थापन गर्न सहज हुने भएकोले नीति ल्याइएको हो ।’ प्रवक्ता बुढाले भने ।

अहिलेको विद्यालयको अवस्थाको आवश्यकतालाई हेरेर नीति, निर्माण र योजना बनाएर त्यहीँ अनुसारको बजेतको व्यवस्था गरेको परिवर्तन गाउँपालिका अध्यक्ष सुक बहादुर बुढा मगरले बताए । ‘नजिक–नजिक स्थापना भएर चलिरहेका विद्यालयहरु छन्, ती विद्यालयलाई त्यहीँ अवस्थामा चलाइरहदा शिक्षामा गुणस्तर नआउने देखिन्छ ।’ अध्यक्ष बुढाले भने, एकातिर शिक्षामा गुणस्तरीय पनि नहुने र अर्को तिर अभिभावकले पैसा पनि तिर्नुपर्ने त्यस्ता खालका विद्यालयहरुलाई शैक्षिक रूपमा बालबालिकाको सिर्जना गर्ने र थोरै विद्यालय बनाउने राम्रो विद्यालय बनाउने उद्देश्यले समायोजन नीति ल्याइएका हौं ।’

कार्यान्वयनमा जादै गर्दा केही विद्यालय समायोजन प्रक्रियामा जाने देखिएको उनले बताए । उनी भन्छन, ‘अहिले ठ्याक्कै नाम नभनौं हेर्दै जादा केही परिमाण आउनेमा म विश्वस्त छु ।’ आफूहरूले शिक्षामा नि:शुल्क भनिरहँदा संस्थागत विद्यालयलाई सरकारी विद्यालयसँग समायोजन गराउनु पर्छ भने धारणा रहेको र आफ्नो पालिकामा तीन वटा निजि विद्यालय रहेको बताउदै ती विद्यालय कुनसँग समायोजन हुने भन्ने विषयमा छलफल हुने समेत जिकिर गरे। त्यसो गर्न सकियो भने मात्र सामुदायिक विद्यालयमा भर्ना शुल्क नलिने नि:शुल्क शिक्षा तिर जाने दिशा तय गरेको र सामुदायिक विद्यालयमा कुरा गर्दै जाने क्रममा यता निजी विद्यालयले शुल्क लिइरहने अवस्था हुने र निजिलाई पनि बन्द गर्न सकियो भने शिक्षा नि:शुल्क हुन्छ भन्ने आफ्नो बुझाई र दृष्टिकोण रहेकाले उक्त दिशामा जान केही समयपछी छलफलमा जाने समेत बुढा मगरको भनाइ रहेको छ ।

परिवर्तन गाउँपालिकामा ४३ वटा सामुदायिक विद्यालय रहेका छन भने ३ वटा संस्थागत अर्थात् निजी विद्यालय रहेका छन । यसरी हेर्दा परिवर्तन गाउँपालिका भित्र जम्मा ४६ वटा विद्यालय रहेका छन् ।परिवर्तन गाउँपालिकामा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएसँगै विद्यालय समायोजन नीतिको अवलम्बन अगाडि सारिएको छ । कति विद्यालय मर्ज हुन्छ ? त्यो भने आउँदा दिनले बताउनेछ । कुन–कुन विद्यालय समायोजन हुने भन्ने पनि छलफलले पकै निचोड दिने छ । परिवर्तन गाउँपालिकामा समायोजन पछि कतिको संख्यामा हुन्छ त विद्यालय त्यो भने आउँदो दिनमा हेर्न बाँकी छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ८ : ४० बजे