Logo

Breaking News 1

पूर्वअर्थमन्त्री शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन समितिको समयसीमा थपिँदै



काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले म्याद थप्न माग गरेको छ ।

बिहीबार शर्मासँग बयान लिएपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै समिति सचिव सुरेन्द्र अर्यालले सभामुख अग्निप्रसाद सापकोटासमक्ष समय थप्नका लागि अनुरोध गरिने जानकारी दिए ।

प्रतिनिधिसभा बैठकले समितिलाई काम थालेको दिनदेखि गणना हुनेगरी १० दिनको समय दिएको छ । जुन समय आज सकिँदै छ । छानबिनका काम बाँकी नै रहेकाले आवश्यक समय थपका लागि सभामुखलाई आग्रह गरिएको पनि सचिव अर्यालले जानकारी दिए ।

यसैबीच, जनार्दन शर्माले बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश नगराएको जिकीर गरेका छन् ।

आर्थिक वर्ष २०७९/०८०को बजेट निर्माणका क्रममा गत १४ जेठको मध्यराति दुई जना अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपमा शर्मामाथि छानबिन गर्न प्रतिनिधिसभाले संसदीय विशेष छानबिन समिति बनाएको छ ।

उक्त समितिको बिहीबार बैठकमा उपस्थित भएर शर्माले आफूले अनाधिकृत व्यक्ति प्रवेश नगराएको जिकीर गरेका हुन् । आफूमाथि लागेको आरोपलाई बारम्बार अस्वीकार गर्दै उनले देशको आर्थिक अवस्था हेरेर विधि र प्रक्रियामा रहेर बजेट निर्माण गरेको दाबी गरे ।

बयानपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिंदै उनले भने, ‘मैले उहाँहरुले सोधेका प्रश्नको जवाफ दिएको छु, बाँकी कुरा उहाँहरुले भन्नुहुन्छ ।’

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  १ : ०० बजे