Logo

Breaking News 1

‘बाबुरामजीको यो गठबन्धन कुनै हालतमा छोड्दिन भन्ने छ’: प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको सम्बन्धमा बिहीवार सम्ममा टुंगोमा पुग्नुपर्नेमा जोड दिएका छन् ।

मंगलवार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग सिंहदरबारमा भेटवार्तापछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले गठबन्धनको बिषयमा बिहीवारसम्ममा टुंगोमा पुग्नुपर्नेमा जोड दिएका हुन् ।

उनले भट्टराईसँग सामान्य राजनीतिक भेटघाट भएको र गठबन्धन बनाउने विषयमा छलफल भएको बताए। गठबन्धन बनाउने सन्दर्भमा अरु पार्टीसँग पनि कुरा गर्ने सहमति भएको पनि उनले जानकारी दिए ।

उनले भने, ‘आजको सामान्य राजनीतिक भेटघाट हो, अरु त्यस्तो केही छैन । गठबन्धन बनाउने विषयमा छलफल चलिराखेको छ । गठबन्धन बनाउने बारे अरु पार्टी सँग पनि कुरा गरौँ । पर्सिसम्म एउटा टुंगोमा पुग्न सकियो भने राम्रो हुन्छ भन्ने कुरा भयो ।’

अध्यक्ष दाहालले आगामी निर्वाचनमा गठबन्धन गर्ने नेपाली काँग्रेस केन्द्रिय समितिको निर्णय सही भएको बताए।

‘काँग्रेसले सहि निर्णय गरेको छ । हाम्रो पनि यही गठबन्धन लिएर जाने भन्ने छ । यो गठबन्धनमा यता उता गर्ने भन्ने हाम्रो कहिँ कतै छैन । बाबुरामजी पनि गठबन्धनमै हुनुहुन्छ नि । यो गठबन्धन कुनै हालतमा छोड्दिन भन्ने छ बाबुरामजीको,’ उनले भने ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ३ : २१ बजे