Logo

Breaking News 1

अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिए



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नबारे प्रश्न उठेपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका हुन् ।

जेष्ठ १४ गते अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश भइ बजेटमा करको दर हेरफेर गरिएको समाचार प्रकाशित भएपछि एमालेले राजीनामा माग गर्दै आएको थियो ।

अर्थमन्त्रीको राजीनामाबारे मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो । बुधबार विहान माओवादी केन्द्रको शीर्ष नेताको बैठकमा अर्थमन्त्रीलाई राजीनामा दिन सुझाइएको थियो । सोहीअनुसार शर्माले अर्थमन्त्रीबाट राजीनामा घोषणा गरेका हुन् ।

राजीनामा दिनुअघि प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले कुन सीसीटीभीको क्षमता कति हुन्छ भन्ने कुरा आफूलाई जानकारी हुने कुरा नभएको प्रस्ट पारेका छन् ।

अर्थ मन्त्रालयले सीसीटीभी फुटेज मेटिएको भन्ने जवाफ दिएको सन्दर्भमा उठेका प्रश्नबारे केन्द्रित हुँदै मन्त्री शर्माले प्रतिप्रश्न गरे– कुन सीसीटीभीको क्षमता कति हुन्छ, म कसरी थाहा पाउनु ? कुन मन्त्रीले सीसीटीभीको क्षमताबारे जानकारी लिन्छ होला ?

उनले बजेट निर्माणका क्रममा अनियमितता भएको भनिएको विषयमा छानबिन गर्न संसदीय छानबिन समिति बनेको र त्यसलाई आफूले स्वागत गर्ने पनि बताए । उनले आफूले ‘अनैतिक’ हुने गरी कुनै काम नगरेको दाबीसमेत गरे ।

‘न मैले कुनै घरानाको स्वार्थ अनुसार बजेटमा करको दर तोकेँ, न मैले बच्चाको दूधको रेट बढाएर चकलेटको रेट घटाएँ, के कारणले अनैतिक भएँ ?’ उनले प्रश्न गरे ।

शर्माले संसद्मा बोल्दै भने, ‘कुन ठाउँमा सीसीटीभी फुटेज रहन्छ भन्ने मलाई के थाहा ? यही संसद् भवनमा सीसीटीभी फुटेज कति दिन रहन्छ हामीलाई कसरी थाहा हुन्छ । त्यो कुरा सम्बन्धित व्यक्तिलाई मात्रै थाहा हुन्छ । म अर्थमन्त्री हुनुभन्दा पहिले नै सीसीटीभी जडान भएको हो ।’

सांसददेखि उपभोक्ता मञ्च समेतले जेठ १४ गते रातिको सीसीटीभी फुटेज सार्वजनिक गर्न माग गरिरहेका वेला अर्थले पत्र निकालेर सीसीटीभी फुटेज नै डिलिट भएको जानकारी गरायो । मन्त्रालयले १३ दिनसम्म मात्रै फुटेज सेभ रहने भनेर उल्लेख गरेको थियो ।

र्थले प्रश्न उठेपछि १३ दिनमा नै फुटेज डिलिट हुन्छ भनेर कुनै जानकारी गराएन । तर, बजेट आएको एक महिनाभन्दा धेरै भएपछि उसले १३ दिनमा फुटेज डिलिट भएको दाबी गरेको छ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ४ : ४० बजे