काठमाडौं । उत्तेजनाको राजनीति मैदानबाट उदाएकी रामकुमारी झाँक्रीले आज शुक्रबार दिउँसोसम्म मन्त्री निवास छोडेकी छैनन् । झाँक्रीले मन्त्री निवास नछोड्दा डेरामा बसेका शहरी विकास मन्त्री मेटमणि चौधरीले सकस व्यहोरिरहेका छन् ।
अनिवार्य हुने भेटघाटले चौधरीको डेरामा हैरानी छ । सबै मन्त्रीहरुले राजीनामा दिएर मन्त्री निवास छोडेपनि झाँक्रीले भने छोड्न मानिरहेकी छैनन् । मन्त्रालयका प्रतिनिधिले प्रश्न गर्दा झाँक्री भन्छिन्,‘मलाई पीर परेको छ, कहिले छोड्छु थाहा छैन ।’
यतिबेला मन्त्रालय मात्र होइन, उनको पार्टी एकीकृत समाजवादीले पनि झाँक्रीको चर्तिकलाबाट हैरानी व्यहोरिरहेको छ । केन्द्रीय परिषद वैठकमा बोल्न नदिएको, सधैं मन्त्री बनाउन अध्यक्ष माधब नेपालले सहयोग नगरेको भन्दै पार्टीका नेताहरुसंग रुने र चिच्याउने गरेकी छिन् ।
मन्त्री भएपछि झाँक्रीको उत्ताउलोपन र कुनै काम नगरेपछि पार्टीको बुद्धिजीवी सर्कलले पहिल्यै उनलाई फिर्ता बोलाउनुपर्ने माग उठाएको थियो । तर, अध्यक्ष नेपाल भने यस बिषयमा मौन बस्दै आएका थिए । पछिल्लो पटक स्वंय नेपालले झाँक्रीलाई मन्त्री पदबाट फिर्ता आउनुपर्यो भनेका थिए । अध्यक्षको आग्रहलाई उनले मेरो लागि अध्यक्ष मरितुल्य हुनुभो भन्ने जस्ता अभिव्यक्ति दिएर झाँक्रीले संचारमाध्यममा निकै आलोचना खेपेकी थिइन् ।
मन्त्री पदबाट बाहिरिएपछि अभिमानपुर्वक पत्रकार भेला गराएर आँसु खसालेकी उनि थप उपहासको पात्र बनिन् । लगत्तै झाँक्रीले मन्त्री निवास नछोड्ने बताइन् । उनले अहिलेसम्म मन्त्री निवास नछोड्दा प्रधानमन्त्री देउवा, उनकै पार्टी अध्यक्ष नेपाल, शहरी विकास मन्त्री चौधरी दिक्क बनेका छन् । निकटका नेताहरुसंग अध्यक्ष नेपालले अब झाँक्रीलाई झुक्किएर पनि मन्त्री बनाउन नहुने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
उता, मन्त्री चौधरीको सचिवालय भने आइतबारसम्म मन्त्री निवासमा सर्ने तयारीमा जुटेको छ । उहाँ (झाँक्री) ले छोडिदिनुभयो भने हामी आइतबारसम्म मन्त्री निवासमा सर्छौं, सचिवालयका एक सदस्यले ऐना खबरसंग भने ।
तर, झाँक्री निकटको स्रोत भन्छ,‘घर मर्मत गर्नु परेकोले सर्न ढिलाई भएको हो ।’ पुर्व मन्त्री ज्यूको घर मर्मत चलिरहेको छ, त्यसैले मन्त्री निवास छोड्न केहि दिन लागेको हो, एकदिन न एकदिन उहाँले मन्त्री निवास खाली गर्नुहुन्छ ।’
झाँक्री मन्त्री हुनुभन्दा पहिले अन्य नेताहरुलाई चर्को गाली गर्नेमा अब्बल थिइन् । तर, उनै चर्को कुरा गर्ने मन्त्रीको काठमाडौंमा घर छ । यस बिषयमा समाजवादीका एक युवा नेता भन्छन्,‘यदि उनले आँफुलाई नेता ठानेकी थिइन् भने मन्त्री निवास नबसी आफ्नै घरमा बसेर देखाउन सक्नुपर्दथ्यो ।’ काठमाडौंमा घर नहुने पो मन्त्री क्वार्टरमा बस्ने हो, यहि आफ्नो घर छ र भेटघाट गर्ने ठाउँ छ भने सरकारी सम्पति खर्च नगर्ने शुरुवात गर्न सकिन्थ्यो नि ।’ झाँक्रीको बोली, व्यवहार र रवाफिलो शैलीले अबको उनको राजनीति यात्रा करिब–करिब सकिएको उनले बताए ।
स्मरणरहोस, कांग्रेसका चिरन्जीवी वाग्ले र गोविन्दराज जोशी मन्त्री पदबाट बाहिरिएपछि केहिदिन बढि मन्त्री निवासमा बस्दा निकै आलोचना खेप्नु परेको थियो । पछि यहि आधारलाई समेत मुछेर भ्रष्टाचारमा मुद्दा दायर हुँदा वाग्ले र जोशी जेल चलान भएका थिए ।
प्रतिक्रिया