Logo

समाचार

अन्तर्राष्ट्रिय कल बाइपास गर्ने भारतीय नागरिक पक्राउ



वीरगञ्ज । अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा पर्साको वीरगञ्जबाट प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

अवैधरूपमा कल बाइपास गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले भारतका इरफान सुफियान खानलाई वीरगञ्जबाट पक्राउ गरेको हो । ब्यूरोबाट खटिएको टोलीले वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्लको सहयोगमा वीरगञ्ज महानगरपालिका–२ रेल्वे रोडस्थित मनान मियाँ तेलीको घरमा बसेर अवैधरूपमा कल बाइपास गरिरहेको अवस्थामा खानलाई पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा प्रहरीले तेलीको घरमा छापामारी गरेर खानलाई भ्वाइस ओभर इन्टरनेट प्रोटोकल कल बाइपास गरिरहेको अवस्थामा विभिन्न सामग्री र उपकरणसहित नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको र खानलाई जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ७ : ३५ बजे