Logo

समाचार

सर्वेन्द्र खनाल काठमाडौं क्षेत्र नं– ६ बाट उठ्दै, यी छन् जित्ने आधार



काठमाडौं । नेपाल प्रहरीका पुर्व आइजीपी सर्वेन्द्र खनाल प्रतिनिधि सभा चुनावमा काठमाडौं क्षेत्र नं – ६ बाट उठ्ने भएका छन् ।
निकटस्थ स्रोतका अनुसार खनालकाे मतदाता नामावली भएको क्षेत्र भएकोले उनले क्षेत्र नं – ६ रोजेका छन् । तर, उनले अहिलेसम्म यो बिषयलाई औपचारिक रुपमा सार्बजनिक गरेका छैनन् ।

उनलाई नेकपा एमालेले यो क्षेत्रबाट चुनावमा लैजाने संभावना देखिएको छ । एमालेका एक केन्द्रीय पदाधिकारीका अनुसार, खनाललाई पार्टीमा प्रवेश गराएर क्षेत्र – ६ बाट उठाउने सल्लाह भइरहेको छ । तर, स्वंय खनाल भने एमालेमा गइहाल्ने मुडमा छैनन् । उनि स्वतन्त्र समुह तयार गरेर अलग्गै चुनावमा होमिन चाहन्छन् ।

एमालेमा जाने भन्ने कुनै निर्णय गरेको छैन, म स्वतन्त्र व्यक्तित्वहरुसंग परामर्शमै छु, उनले भने,‘चुनावमा जाने टुंगोमा पुगेको छु, सहकार्य वा स्वतन्त्रबाट जाने सल्लाह हुँदैछ ।’ आँफु सकभर नयाँ पार्टी निर्माण गरेर जाने पक्षमा रहेको उनले बताए ।

खनालले चुनाव जित्ने यी छन् आधार

खनाल २०४६ सालमा इन्सपेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । कार्यक्षमता,कार्यसम्पादन मुल्याङ्कन र सिनियरिटीको आधारमा एक नम्वरमा रहेका खनाललाई सरकारले २०७४ साल चैतमा आईजीपी बनाएको थियो । प्रहरीको व्यवसायिक छवि एवं संगठनको प्रतिष्ठा सँधै उचो राख्न सफल खनालका दर्जनौं कामका श्रृंखलाहरु छन्, जसले उनलाई सफलताको उचाइतर्फ पुर्यायो ।

नेपाल प्रहरीमा कुनै पनि ठाउँमा अराजकता फैलिएपछि त्यहाँको वस्तुस्थिति नियन्त्रण गर्नका लागि पटक–पटक खनाललाई पठाउने गरेको थियो । मधेस अन्दोलनका क्रममा धनुषामा आन्दोलनकारीले सबै सरकारी कार्यालयलाई नियन्त्रणमा लिएपछि सरकारले स्थितिलाई नियन्त्रणमा लिन खनाललाई नै खटाएको थियो । जनआन्दोलनमा काठमाडौंको प्रमुख हुँदा उनले निभाएको भूमिकाकै कारण पनि उनी प्रहरीको नेतृत्व सम्हाल्न सक्छन भन्ने प्रमाणित गरेको छ ।

खनालको नेतृत्वमा मोस्टवान्टेड सूचिका गुन्डा नाइके कुमार श्रेष्ठ घैंटेको इन्काउन्टर भएको थियो । खनाल महानगरीय अपराध महाशाखामा आएपछि घैंटेको इन्काउन्टर भएको थियो । घैँटे इन्काउन्टरका बेला नेपालबाट मात्र होइन विदेशका पनि नेपालीहरुले खनाललाई फोनबाट बधाई दिएका थिए । खनाल महाशाखामा हुँदा लागु औषध र अपहरण काण्डका अभियुक्त जेलबाट भागेका रावणजीत तामाङलाई गोली हानेर पक्राउ गरेका थिए । त्यस्तै म्याच फिसिक्स प्रकरणमा खेलाडीलाई पक्राउ समेत उनैले गरेका थिए ।

त्यतिबेला तत्कालिन फुटबल कप्तान सागर थापासहितका खेलाडीलाई उनकै अग्रसरतामा पक्राउ गरेर कारबाही गरिएको थियो । म्याच फिक्सिङ गर्नेहरुको धन्दालाई धुजाधुजा पारेको केही समयमा नेपाली फुटबलमा नयाँ इतिहास कायम भयो । २३ वर्षपछि नेपालले अन्तराष्ट्रिय खेल जित्यो । खेलको सौदाबाजी गर्ने राष्ट्रिय फुटबल टिमका कप्तान सागर विकास क्षेत्री, सन्दीप राई, रितेश थापा र अन्जन क्षेत्रीलाई खनालको टिमले कानुनको कठघरामा उभ्यायो ।

महाभुकम्पको समयमा नाकाबन्दीको फाईदा उठाउँदै कालोबजारी र ठगी गर्नेहरुको संरक्षक बनेका सरकारका सहसचिव रामआधार साह पनि खनालको जालोमा परे । लामो समयदेखि पेट्रोलियम पदार्थ बेच्ने पम्प सञ्चालकहरुले तेलको मात्रा कमगरि बेच्ने उपकरणहरु रिमोट, रिसिभर, डिभाईस, गियर, स्विच, कोड र सेफ्टी पिन जडान गरी उपभोक्ता ठग्नेलाई पनि खोजिखोजि हत्कडी लगाए । खनाल महाशाखामा आएको केही समयमा संचार उद्यमी जमिम साहको हत्याका मुख्य आरोपी पक्राउ परे ।

जमिम हत्याकाण्डका आरोपित जगदिश चन्दलाई नियन्त्रणमा लिएका थिए । जमिम साहको २०६६ सालमा हत्या भएको थियो ।
२०६० सालमा एउटै परिवारका पाँच जनाको ज्यान लिने चन्द्र बहादुर पहरीलाई खनालकै टोलीले पक्राउ गरेर देखायो । अवैध धन्दा गर्ने कन्सलटेन्सीहरु उनको नजरबाट बच्न सकेनन् ।

कुख्यात भारतीय अन्डर वर्ल्ड नाइके बब्लु दुबेलाई खनालले पक्राउ गरेपछि त उनले भारतको समेत पुरस्कार पाए । तराई जनतान्त्रिक मुक्तिमोर्चा धनुषा महोत्तरी प्रमुख सुधिर पाण्डे, राजन मुक्ति प्लटुन कमाण्डर, ज्वाला समूहका धनुषा, महोत्तरी, सर्लाही इन्चार्ज मरिक यादव, बीरगन्जमा उत्पाद मच्चाउने गुण्डानाइके अग्नी भनिने सुनिल जैसवाललाई पनि खनालले कारवाहीको दायरामा ल्याएका थिए ।

पछिल्लो समयमा ट्राफिक प्रहरी महाशाखामा कार्यरत खनालले पशुपति, ठमेल र असन क्षेत्रमा चारपांग्रे सवारी निषेध गराएर ब्यबस्थित बनाएका थिए । सडकका खाल्डाखुल्टी पुर्ने अभियान, चक्रपथ सुधार र सरसफाइ अभियान तथा राजधानीका १० स्थानमा लाइन बसेर सवारी चढ्ने नियमको सुरुवात गरे । सार्वजनिक माइक्रो चालक र सहचालकलाई पोशाक लगाउने नियम बसालेका खनालकै पहलमा १० बर्षदेखि बिग्रेका ट्राफिक बत्तीको मर्मत गरेर बलेका थिए ।

नागरिक र प्रहरीको मनोवल उच्च राखे सर्वेन्द्रले

खनाल प्रहरी महानिरीक्षकमा नियुक्त हुनुअघि प्रहरी संगठन भित्र तमासा जस्तै थियो । प्रहरीका महिनौंदेखि रिक्त रहेका सयौं पद जुन पूर्ति हुन सकिरहेका थिएनन् । यो समस्याको हल गर्दै सबै प्रक्रिया मिलाउँदै लगेका थिए ।

प्रहरी जवानदेखि माथिल्लो तहसम्मका करिब ८ हजार प्रहरी कर्मचारीहरुको बढुवा भयो भने करिब ३० हजार प्रहरी कर्मचारीको अनुकूल स्थानमा सरुवा गरियो । सिनियर प्रहरी अधिकृत बढुवा १ वर्षमा तीनपटकसम्म आईजीपी खनालले नै गरी नेपाल प्रहरीको इतिहासमा रेकर्ड राख्न सफल भए ।

खनालको नेतृत्वमा प्रहरी संगठन हुँदा भ्रष्टाचार निकै कम भएको थियो । त्यो बेला भएको एक सर्वेक्षण अनुसार मुलुकभर सेवा प्रवाह गर्ने संस्थाहरुमध्ये नेपाल प्रहरी संगठनमा ०.१ प्रतिशत मात्र भ्रष्टाचार भएको थियो । जुन अन्य सरकारी अड्डाहरुको तुलनामा निकै न्युन हो ।

प्रहरी संगठनमा काजको औचित्यलाई पुस्टयाई गर्न आईजीपी खनालले ६ बुँदे निर्देशन जारी गर्दै १५ दिनभित्र काजको कार्यान्वयन नगर्ने प्रहरी अधिकारीको रेकर्ड राखी तत्कालै कार्यान्वयन गराई संगठनमै जरा गाडेर बस्ने र आफ्नो स्वार्थ पूर्ति गर्नका लागि खराव आचरणका प्रहरी कर्मचारीको होसहवास नै उडाएका थिए ।

समग्रमा भन्दा जनधनको सुरक्षामा आफ्नो जीउ ज्यान नभनी अहोरात्र खटिने प्रहरी कर्मचारीहरुको मनोबल उच्च राखी सदैव कार्य गर्न अभिप्रेरित गर्ने पुर्व आईजीपी खनाल अहिलेसम्मको प्रहरीको नेतृत्वमा कुशल र निकै सदाचार ठहरिएका छन् ।

आइजीपीबाट अवकास भएपछि सांसद डा. सुरेन्द्र यादवको घटनासंग वित्थैमा मुछेपछि उनि निकै दुखी भए । ‘सोचे न सम्झेको घटनासंग जोडिदिए,’खनालले भावुक हुँदै भने,‘म माथि लागेको यो अनावस्यक आक्षेप चिर्न पनि म जनताकैबीचमा जान्छु ।’ यतिका बर्ष प्रहरी संगठनबाट देश र जनताको सेवा गरें, अब राजनीतिको मैदानबाट यहाँका विकृति विसंगति हटाएर समृद्धि नेपाल बनाउने अभियानमा लाग्ने उनले बताए । म केहि दिनभित्रै चुनावमा कसरी जाने भन्ने बारेमा सबै विवरण सार्बजनिक गर्नेछु, उनले भने ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ११ : ४९ बजे