Logo

Breaking News 1

एसपीपी सम्झौता हुँदैन, प्रधानमन्त्रीले हस्ताक्षर नगर्ने बचन दिनुभयो : नेपाल



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रहित विपरीतका कुनै पनि सहमतिमा हस्ताक्षर नगर्ने विश्वास दिलाएको बताएका छन् ।

आइतबार विभिन्न सञ्चार माध्यमको सम्पादकसँगको छलफलमा उनले प्रधानमन्त्रीले आफूहरुसँगको छलफलमा राष्ट्र हित विपरीतका सहमतिमा हस्ताक्षर नगर्ने बताएको जानकारी दिए । अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपालले हस्ताक्षर गर्छ कि भन्ने प्रश्नमा नेपालले प्रधानमन्त्रीज्यूले नेपालको हितमाथि आघात पुग्ने कुनै पनि कागजमा, सम्झौतामा मबाट सही हुने छैन भनेर बचन दिनुभएको जानकारी दिए । यति क्याटागोरीकल्ली बोलिसकेपछि, गृहमन्त्रीले पनि संसदमा बोलिसकेपछि हामीले धेरै शंका गरिरहनुपर्ने आवश्यकता छैन ।’

अध्यक्ष नेपालले यसका बाबजुद जनतालाई पनि सजग गराइरहनुपर्ने बताए । ‘नेपाली सेनाले चिठी पठाउने कुरा कुटनीतिक हिसाबले ठीक थियो भन्ने प्रश्न खडा भएको छ । सेनाले अर्को देशको कुटनीतिज्ञलाई चिठी पठाउने ठीक थियो कि थिएन ? त्यसमा को कसको भूमिका थियो भन्ने बारेमा छलफल हुनुपर्छ’ अध्यक्ष नेपालले भने ।

अमेरिकासँग ‘स्टेट पार्टनरशीप प्रोग्राम’ (एसपीपी) मा रहनु हुँदैन भन्नेमा सत्ता गठबन्धनमा कुनै विमति नरहेको उनले प्रस्ट पारे ।
उनले आइतबार बसेको गठबन्धन बैठकमा पनि नेपालले कुनै पनि सैन्य गठबन्धनमा रहँदनौं भनेर प्रस्ट अडान लिनुपर्नेमा सबैजसो नेता सहमत भएको बताए ।​ एसपीपीले नेपालमा तरङ्ग ल्याएको र एसपीपीकै कारण नेपाल द्वन्द्वको अखडा हुने हो कि भन्ने चिन्ता सर्वसाधारणमा रहेको भन्दै उनले यसबारे गठबन्धनको बैठक बोलाएर प्रस्ट पार्नुपर्छ भनेर आफूहरुले आजै प्रधानमन्त्रीलाई भनेको र यसमा प्रधानमन्त्री पनि सकारात्मक रहेको जनाए ।

फरक प्रसंगमा अध्यक्ष नेपालले भने,‘जहाँसम्म पर्यटनमन्त्रीको कुरा छ, मान्छेका बारेमा कुरा उठ्दा जवाफ दिन धेरै गाह्रो हुन्छ,’ उनले भने,‘यति मात्र भन्छु बोल्दाखेरी विचार पु¥याएर मात्र बोल्नुपर्छ ।’

यस्तै मन्त्री परिवर्तनका विषयमा बोल्दै अध्यक्ष नेपालले केही दिनभित्रै पार्टी निर्णयअनुसार नै हुने बताए । ‘बाध्यताले ६ महिनाका लागि भनेरै पठाएका हौँ । कतिपय मन्त्रीले बाहिर खुलेरै भन्नुभयो उहाँलाई धन्यवाद,’ उनले भने, ‘६ महिना अगावै हटाउने कुरा पनि उठेको हो । त्यो भनेपछि ६ महिनासम्म त काम गर्नदिनुस भन्नुभयो । अहिले ८ महिनापछि हटाउने निर्णय गरेका छौँ ।’

जसमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रले समय मागेकाले ढिलाइ भएको बताए । ‘प्रधानमन्त्रीजी र माओवादी केन्द्रका साथीहरूले हाम्राभित्र पनि कुरा उठेको छ । केही दिनमा सँगै गरौँला भनेर भनिएको छ । छिट्टै केही दिनमा परिवर्तन हुन्छ,’ उनले भने ।

आइतबार बिहान प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच छलफल भएको थियो ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ४ : ३५ बजे