Logo

Breaking News 1

एसपीपी सम्झौता ओलीकै पालामा अघि बढेको हो: महामन्त्री शर्मा



काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) केपी ओली नेतृत्वको सरकारकै पालामा अघि बढेको दावी गरेका छन्।

महामन्त्री शर्माले प्रमुख प्रतिपक्ष दल एमालेले आफ्नो पार्टी काँग्रेसलाई आक्षेप लगाउने ढंगले संसदमा बोले पनि त्यसको २४ घण्टा नबित्दै सो प्रोग्राम ओली नेतृत्वकै सरकारले अघि बढाएको खुल्न आएको बताएका हुन् ।

उनले कूटनीतिक मर्यादा विपरित सो प्रोग्राममा सामेल भएर नेपाली सेना पनि विवादमा पहिलो पटक सामेल भएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

नेपाल शिक्षक संघ, ललितपुरले शनिबार पाटनढोकामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उक्त प्रोग्राम राष्ट्रको हितमा नभएकाले अघि नबढाउने कुरा प्रधानमन्त्री शेरबहादुर देउवाले स्पष्ट पारिसकेको बताए। नेपालले मुलुकको हित विपरीतका यस्ता कुनै प्रकारका सन्धी, सम्झौता नगर्ने शर्माको दावी छ।

महामन्त्री शर्माले नेपालले अमेरिका, भारत, चीन कुनै पनि मुलुकबाट देश र जनताको हितका लागि सहयोग लिन सक्ने तर सैन्य गतिविधिमा भने कहिल्यै पनि सहभागी नहुने बताए।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ३ : २८ बजे