Logo

निर्वाचन विशेष

ललितपुरका नव निर्वाचित मेयर चिरिबाबुले सपथ लिए



काठमाडौं । ललितपुर महानगरपालिकाका नव निर्वाचित मेयर चिरिबाबु महर्जनसहित अन्य जनप्रतिनिधिहरूले शपथ ग्रहण गरेका छन् ।

बुधबार ललितपुरमा आयोजित समारोहमा मेयर महर्जनलाई मुख्य निर्वाचन अधिकृतले शपथ खुवाएका हुन् । शपथपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख महर्जनले आफूले थालेका पुराना योजनाहरू पुरा गर्दै नयाँ कामको सुरुवात गरिने बताए । त्यसक्रममा उनले निर्वाचन अघिसम्म राजनीतिक पार्टीको वकालत गरे पनि अब समग्र महानगरको विकास र महानगरवासीका समस्या समाधान गर्नतिर लाग्ने बताए । ‘हिजो हामी राजनीतिक रूपमा प्रस्तुत भयौ, अव उप्रान्त मलाई कसले भोट दियो दिएन भनेर हेर्दैनौ’, महर्जनले भने, ‘नगरवासीलाई शिरमा राखेर काम गर्नुपर्छ । यसो गरे मात्रै हामी सफल हुनेछौ ।’
महर्जनले एमालेका हरिकृष्ण व्यन्जनकारलाई ३२६ मत अन्तरले पराजित गर्दै मेयर पदमा निर्वाचित भएका थिए ।

मेयर निर्वाचित कांग्रेसका महर्जनले २४ हजार ६ सय ४२ मत पाएका थिए । एमालेका ब्यन्जनकारको पक्षमा २४ हजार ३ सय १६ मत परेको थियो । तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका दिनेश महर्जन ‘दिपेश’ले १० हजार ६६१ मत पाएका थिए ।

यसैगरी उपमेयरमा कांग्रेसकी गीता सत्यालले साझा पार्टीकी शोभा शाक्यलाई ५ हजार ५७९ मत अन्तरले हराएकी थिइन् । उपमेयर निर्वाचित गीता सत्यालको पक्षमा १९ हजार ८१९ मत परेको थियो भने साझा पार्टीकी शोभा शाक्यले १४ हजार २४० मत पाएकी थिइन् । एमालेसँगको गठबन्धनबाट उमपेयरको उम्मेदवार बनेका राप्रपाका बाबुकाजी थापाले १०५४७ मत प्राप्त गरेका थिए ।
ललितपुर महानगरपालिका जितेसँगै कांग्रेस विजयी भएका स्थानीय तहको संख्या १०४ पुगेको छ ।

ललितपुरका ६ स्थानीय तहमध्ये नेपाली कांग्रेसले ३, एमालेले २ र माओवादी केन्द्रले एउटामा जित हासिल गरेका छन् ।
यसैगरी एमालेले महालक्ष्मी नगरपालिका र महांकाल गाउँपालिका जितेको छ । महालक्ष्मी नगरपालिकाको प्रमुखमा रामेश्वर श्रेष्ठ र उपप्रमुखमा निर्मला थापा तथा महांकाल गाउँपालिका अध्यक्षमा रामचन्द्र दाहाल र उपाध्यक्षमा कमला तामाङ विजयी भएका छन् ।
माओवादी केन्द्रले जितेको कोन्ज्योसोम गाउँपालिकाको अध्यक्षमा गोपिलाल सिङ्तान र उपाध्यक्षमा मिङ्मा लामा छन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ४ : ०७ बजे