Logo

मुख्य समाचार

सुन्दरी प्रतियोगिता भित्र लुकेको एउटा अपराधः पिडकलाई कारवाही र पीडित युवतीलाई न्याय दिन चौतर्फी माग



काठमाडौं । एक युवती अहिले न्यायको याचना गर्दै मिडिया र सामाजिक संजालमा छाइरहेकी छिन् । आठ वर्षअघि भएको एउटा सुन्दरी प्रतियोगितामा भाग लिएकी ती युवतीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेकी हुन् । सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी उनलाई आयोजकले होटलमा बोलाएर पहिलोपटक बलात्कार गरेको र त्यहाँ खिचेको फोटो र भिडियोले ‘ब्ल्याकमेल’ गर्दै निरन्तर ६ महिनासम्म यौन शोषण गरेको बताएकी छन् ।

टिकटक र इन्स्टाग्रामबाट भिडियो मार्फत उनले आफूमाथि भएको घटनाको विस्तृत खुलासा गरेपछि अहिले उनको न्यायका लागि चौतर्फी आवाज उठेको हो । भिडियोमा उनले सानैदेखि मोडलिङमा रुचि राख्ने गरेको र कक्षा १२ को परीक्षा दिएपछि हाउस अफ फेसनमा अडिसन दिएको बताएकी छन । त्यसमा छनोट नभए पनि उनको फोटो सार्वजनिक भएपछि भिसा ग्लोबल कन्सल्टेन्सीले ‘फोटोसुट’ का लागि अफर गरेको उनको भनाइ छ । ‘अफर आएपछि म निकै उत्साहित भएँ, कन्सल्टेन्सीको मान्छे र एक जना फोटाग्राफर मिलेर मेरो फोटोसुट गराए, कन्सल्टेन्सीको मान्छेले मलाई पाँच हजार रुपैयाँ दियो,’ उनले भनेकी छन्, ‘कन्सल्टेन्सीको मान्छेले मलाई सुन्दरी प्रतियोगिता आयोजना गर्न लागेको बतायो, म पहिले पनि यस्ता प्रतियोगितामा भाग लिएकाले सहभागी हुन तयार भएँ ।’

‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा उनी सहभागी मात्र भइनन्, ‘फर्स्ट रनर–अप’ को ताज पनि पाइन । त्यसपछि प्रतियोगिताको आयोजकले उनलाई फोन गरेर नयाँ बानेश्वरको एभरेस्ट होटलमा ‘सक्सेस पार्टी’ हुन लागेको भनेर बोलाएको र त्यहाँ जाँदा अरू सहभागी पनि नदेखेको उनको भनाइ छ । आयोजकले अरू पछि आउँछन् भन्दै फकाएको, पेय पदार्थ दिएको र केही समयपछि आफूलाई चक्कर आएर असहज भएको तर घर जान नदिएको उनले बताएकी छन । ‘त्यसपछि मैले घर जान चाहन्छु भनेकी थिएँ तर उसले तिमी विजेता भएर यस्तो भन्ने भन्दै बस्न दबाब दियो ।’

अरू सहभागी आएपछि बोलाउने भन्दै आयोजकले केहीबेर आराम गर्न उनलाई कोठामा पठाएको तर त्यसपछि बेलाबेलामा होस खुल्दा आफूमाथि बलात्कार भइरहेको थाहा पाए पनि प्रतिकार गर्न नसकेको उनले बताएकी छन ।
घटना हुँदा उनी १६ वर्षकी थिइन । कानुनी उपचारमा जान चाहे पनि सुन्दरी प्रतियोगिताकी कोरियोग्राफरले साथ नदिएकोमा उनले आक्रोश पोखेकी थिइन ।
पीडितले आफूमाथि भएको हिंसाबारे बोलेपछि कलाकार, पत्रकार, सामाजिक सञ्जाल प्रयोगकर्ताहरु पनि उनका पक्षमा खुलिरहेका छन् । पूर्वमिस नेपाल श्रृंखला खतिवडाले उनीमाथि भएको हिंसाबारे सुन्दा आफू अत्यन्तै दुःखी भएको बताएकी छन् । उनले भनेकी छन्, ‘यदि मिल्थ्यो भने म त्यो समयमा पछाडि जान चाहन्थे र तपाईंलाई बताउँथे कि आफूमाथि भएको हिंसाबारे बोल्नु कहिल्यै पनि गल्ती होइन ।’

अभिनेत्री पूजा शर्माले पनि सामाजिक सञ्जालमा फेसबुकमा स्ट्याटस लेख्दै यो घटना एउटा यौन हिंसाको घटना मात्र नभएको बताउँदै सिंगो मानवतामाथिकै प्रहार भएको बताएकी छन् ।

पीडितले विगतमा आफूले प्रहरीमा जानेबारे आफ्नो केही साथीलाई बताएको भए पनि सामाजिक प्रतिष्ठामा आँच आउने भन्दै साथ नदिएकाले नसकेको बताएकी छन् । हाल उनले सामाजिक सञ्जालमा घटनाबारे सार्वजनिक गरेपछि धेरैले नेपाल प्रहरीलाई मेन्सन गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् ।
त्यसैगरि, आज बालुवाटारमा पीडित युवतीको न्यायका लागि विभिन्न अभियन्ताहरुले प्रदर्शन गरेका छन् । अपराधीलाई पक्राउ गरेर कारवाही गर्नुपर्ने उनिहरुको माग छ । उता नेपाल प्रहरीको उपत्यका अपराध अनुशन्धान महाशाखाले यो बिषय अनुशन्धान गर्ने जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  १ : ५५ बजे