Logo

समाचार

बाँकेका पन्ध्र वडाको मत परिणाम सार्वजनिक



बाँके । जिल्लामा कुल ८१ वडामध्ये अहिलेसम्म १५ वडाको मतपरिणाम सार्वजनिक भएको छ । हालसम्मको मतपरिणाम अनुसार नेकपा (एमाले)ले पाँच, नेपाली कांग्रेसले चार, नेकपा (माओवादी केन्द्र)ले तीन, जनता समाजवादी पार्टी (जसपा)ले दुई तथा राप्रपाले एक वडा जितेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा एमालेका प्रमोद रिजाल निर्वाचित भएका छन् । उनले कूल ७८१ मत प्राप्त गरेका थिए ।

उनी यसअघि पनि सो वडाका वडाध्यक्ष थिए । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका तारामान कुँवरले ७२७ मत प्राप्त गरे भने कांग्रेसले ५८१ मत प्राप्त गरेको थियो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ मा राप्रपाका मनोज श्रेष्ठले ५५० मत प्राप्त गरी निर्वाचित भएका छन् । उक्त वडा विसं २०७४ को निर्वाचनमा कांग्रेसले जितेको थियो । नेपालगञ्ज – २२ मा जसपाका अब्दुल गफ्फार हलवाई निर्वाचित भएका छन् । यस्तै जानकी गाउँपालिका वडा नम्बर १ मा जसपाका प्यानल विजयी भएकोछ । जसपा नेपालका मोहम्मद रजा राइ वडाध्यक्षमा एक हजार १७४ मत प्राप्त गर्दै विजयी भएका छन् । वडा नम्बर २ मा नेकपा माओबादीका चन्द्रिकाप्रसाद गुप्ता विजयी भएका छन् । उनी दोस्रो कार्यकालका लागि वडाध्यक्ष निर्वाचित भएका हुन् ।

राप्तीसोनारी गाउँपालिका–१ को वडाध्यक्षमा एमालेका यमबहादुर खड्का निर्वाचित भएका छन् । उनीसहित एमालेको पूरै प्यानल निर्वाचित भएको हो । खुला सदस्यमा एमालेकै चूर्णबहादुर भण्डारी र भरत बुढाथोकी, महिला सदस्यमा एमालेकै यमकुमारी ओली र दलित महिला सदस्यमा निर्मला विक निर्वाचित भएका छन् ।

राप्तीसोनारी –२ मा एमालेका उम्मेदवार ज्ञानेन्द्र वली (ज्ञानु) विजयी भएका छन् । राप्तीसोनारी–३ मा एमालेका मीनकुमार थारु निर्वाचित भएका छन् । एमालेका वडाध्यक्षका उम्मेदवार मिनकुमार थारुले एक हजार ३४३ मत ल्याएका छन् । महिला सदस्यमा सुमित्राकुमारी थारु दलित महिला सदस्यमा रिता दमाई, खुला सदस्यतर्फ पुन्वा थारु र मङ्गलबहादुर ओली विजयी भएका छन् । कोहलपुर नगरपालिका–१ मा माओवादीका बद्रीप्रसाद जैसीको प्यानल विजयी भएको छ ।

कोहलपुर– १५ मा कांग्रेसका दीपेन्द्रकुमार थारु वडाध्यक्षमा निर्वाचित भएका छन् । सो वडामा कांग्रेसको पूरै प्यानल निर्वाचित भएको छ । खजुरा गाउँपालिका वडा नम्बर १ मा कांग्रेसका मनवीर खत्री विजयी भएका छन् । डुडुवा गाउँपालिका–१ मा कांग्रेसका पटेश्वरी कुर्मीसहितको प्यानल विजयी भएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ९ : ४२ बजे