Logo

निर्वाचन विशेष

ओलीको आरोपः कांग्रेसको घाँटी राजतन्त्रसंग जोडिएको छ, एमालेले सहकार्य गर्देन



काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस जनतामाथि विश्वास नगर्ने दल भएको आरोप लगाएका छन् । पार्टी कार्यालयमा आज आइतबार आयोजित पत्रकार सम्मेलनमा ओलीले प्रमुख सत्तारुढ नेपाली कांग्रेसको चर्को आलोचना गरेका छन् ।

‘कांग्रेस एमालेसँग कहिल्यै सहकार्य गर्न चाहँदैन । यस्तो सोच्नु पनि अपराध ठान्छ,’ उनले भने, ‘उसले राणा शाहीसँग सहकार्य गरेको इतिहास छ । नेपाली कांग्रेसले निरंकुश राजतन्त्रसँग आफ्नो घाँटी जोडिएको घोषणा गरेको सर्वविदितै छ । कांग्रेसको नीति र अकर्मण्यताका कारण सशस्त्र द्वन्द्वका लागि मार्ग प्रसस्त भएको यथार्थ हो । कांग्रेसले नै जनताको सत्ता राजालाई बुझाएको धेरै भएको छैन ।’

उनले अहिले पनि दक्षिणपन्थी, वामपन्थी अतिवाद र अवसरवादीहरूसँग घाँटी जोडेर कांग्रेसले गठबन्धन सरकार चलाएको बताए । ‘ऊ जनादेशमा विश्वास गर्दैन । सकेसम्म मुद्दा मामिला, छलकपट, षडयन्त्र र मिलावटबाटै सत्ता भोग गर्न चाहन्छ,’ उनले भने, ‘आफूलाई लोकतान्त्रिक शक्ति भन्दै लोकतन्त्रको चरम उपहास गर्दा पनि उसलाई लज्जाबोध हुँदैन, ऊ जनतामाथि विश्वास गर्दैन ।’

देशको समृद्धि विकासलाई कांग्रेस उल्टो सपना र कोरा गफ भन्ठान्ने भन्दै उनले उसका लागि सुल्टो भनेको परिवार, नातेदार, गुट र अवसरवादीको हित र सदभाव मात्रै रहेको बताए । कांग्रेस देशलाई गरिबी विपन्नता, अभाव लघुताभाष र अनिश्चयको दुश्चक्रमा राखेर जनतामाथि शासन गर्न चाहेको आरोप ओलीले लगाए ।
ओलीले नेपाली काँग्रेस सुशासन र विकासको मार्गमा तीव्र रूपले अघि बढिरहेको देशलाई व्यवधान खडा गर्न उद्यत भएको आरोप लगाए । अध्यक्ष ओलीले २०४६ सालपछि नेकपा एमाले १० वर्ष सरकारमा रहेको र काँग्रेस २७ वर्ष सरकारमा रहेपनि एमाले नेतृत्वको सरकारले विकास र राष्ट्रहितका धेरै काम गर्न सफल भएको दावी समेत गरे ।

‘काँग्रेस देशलाई यथास्थितिमा राख्न, पछाडि फर्काउनका लागि राष्ट्रियता लोकतन्त्र र जनताप्रतिको कर्तव्यबोधका कमजोर रहेका तत्वहरूलाई खोज्ने र त्यस्ताको साथ सहयोग लिएर देश हितका सन्दर्भमा उल्टो बाटो समात्ने काम गर्यो’, पत्रकार सम्मेलनमा लिखित वक्तव्य पढ्दै ओलीले भने, ‘काँग्रेसले संसदीय मूल्य र मान्यतालाई नै कुल्चियो । राजनीतिक दलको आधारभूत मर्ममाथि प्रहार ग¥यो । काँग्रेसले संसद्लाई बन्धक बनायो, स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्यायो ।’
उनले काँग्रेस नेपाली जनताको स्थिरता र विकासका सवालमा अवरोध बनेको भन्दै नेपालको विकास र नेपालीको सुख तथा स्थायित्वका लागि एमालेलाई साथ दिन आग्रह गरे । पत्रकार सम्मेलनमा ओलीले संसद् विघटनको बचाउ गर्दै भने,‘संविधानको रक्षा गर्न जनाधिकारको संरक्षण गर्न र देशलाई थप षडयन्त्रको चक्रव्यूहबाट जोगाउन लोकतन्त्रप्रति प्रतिबद्ध रहेको नेकपा एमाले सरकारका सामु अन्य विकल्प थिएन । फलस्वरुप जनादेशका लागि जनतामा जाने निष्कर्षमा हामी पुग्यौँ ।’

उनले आफ्नो संसद विघटनको कदमलाई अदालतले उल्ट्याएर संवैधानिक अधिकारमाथि कुठाराघात गरेको आरोप लगाए । ओलीले तीनै तहमा नेकपा एमालेको सरकार आवश्यक रहेको भन्दै उनले राणा, राजा र काँग्रेसको सरकारले देश विकास र जनताको सुख समृद्धिका योजना अगाडि नबढाएको आरोप समेत लगाए ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  १२ : १२ बजे