Logo

Breaking News 1

निर्वाचन आयोगद्धारा उम्मेदवारको नाम सार्वजनिक, महानगरहरुमा कति ?



काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा विभिन्न पदका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । आयोगले १ लाख ४५ हजार ९२ जना उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो ।
यसअघि विभिन्न प्राविधिक कारणले उम्मेदवारहरूको सूची प्रकाशनमा ढिलाइ भएको आयोगले जनाएको थियो । यो सूचीमा पनि केही थपघट हुन सक्ने आयोगको भनाई छ ।

महानगरमा उम्मेदवार संख्या

देशका ६ महानगरपालिकामध्ये सबैभन्दा धेरै उम्मेदवारी वीरगन्ज महानगरपालिकामा परेको छ । सो महानगरपालिकामा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ८८१ जनाले उम्मेदवारी दिएका हुन् । कुल ३२ वडा रहेको वीरगन्जमा मेयर पदमा भने ३० जनाको उम्मेदवारी रहेको छ भने उपमेयरमा १० जनाको उम्मेदवारी रहेको छ । तर, वडा तहमा भने स्वतन्त्रसहित दलीय उम्मेदवारहरूको बाढी लागेको हो ।

निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीअनुसार ६ महानगरपालिकामा कुल ४ हजार २३९ जना उम्मेदवार रहेका छन् । जसमा मेयर पदमा १६१ जना र उपमेयर पदका ८३ जना उम्मेदवार रहेका छन् । बाँकी उम्मेदवार वडाध्यक्ष, सदस्य, महिला र दलित सदस्य पदका रहेका छन् । स्थानीय निर्वाचनमा एक स्थानीय तहबाट मेयर उपमेयर १–१ जना र वडाबाट अध्यक्षसहित ५ जना निर्वाचित हुने व्यवस्था रहेको छ ।

स्थानीय तह निर्वाचनमा महानगरपालिकाको भिडन्तलाई महत्त्वका साथ हेर्ने गरिन्छ । स्थानीय तह निर्वाचनका लागि देशभरका पालिकाबाट १ लाख ४५ हजार ९० जना उम्मेदवार रहेका छन् । आयोगका प्रवक्ता शालिग्राम शर्माले केही स्थानमा निर्वाचनको संशोधित कार्यक्रम गर्नुपर्ने तथा केही स्थानमा इन्टरनेट र विद्युत् अवरुद्ध भएकाले केही विवरण तलमाथि हुनसक्ने बताए । आयोगले वैशाख १६ गते नै अन्तिम नामावली सार्वजनिक गर्नुपर्ने भए पनि एकीकृत रूपमा सार्वजनिक गर्न सकेको थिएन। मंगलबारसम्म ढिलाइ हुनुमा आयोगले विद्युत् र इन्टरनेटकै समस्या रहेको जनाएको छ ।

ललितपुर र काठमाडौँमा कति उम्मेदवार ?

बागमती प्रदेशमा रहेका तीन महानगरपालिकामध्ये ललितपुर महानगरपालिकामा मेयर पदमा १३ जनाको उम्मेदवारी परेको छ । काठमाडौँ महानगरपालिकामा मेयर पदमा ५५ जनाको उम्मेदवारी पर्दा ललितपुरमा भने तुलनात्मक रूपमा मेयर पदमा कम उम्मेदवारी परेको हो । यस्तै उपमेयरमा ललितपुर महानगरपालिकामा ११ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । ललितपुरमा मेयर र उपमेयरमा सत्ता गठबन्धनको तालमेल रहेको छ भने जसमा काँग्रेसबाट मेयर पदमा चिरिबाबु महर्जन रहेका छन् । यस्तै एमालेबाट हरिकृष्ण व्यञ्जनकार उम्मेदवार रहेका छन् । ललितपुरमा ३२ वटा वडाका पदहरूमा गरी कुल ५८६ जनाको उम्मेदवारी परेको छ ।
यसैगरी काठमाडौँ महानगरपालिकाको मेयर पदका लागि ५५ जनाले उम्मेदवारी दिँदा ३० जनाले उपमेयर पदमा उम्मेदवारी दिएको आयोगले जनाएको छ । काठमाडौँमा सत्ता गठबन्धनबाट सिर्जना श्रेष्ठ मेयरको उम्मेदवार रहेकी छन् भने एमालेबाट केशव स्थापित मैदानमा छन् । यस्तै काठमाडौँमा गठबन्धनबाट उपप्रमुखमा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठको उम्मेदवारी रहेको छ भने एमालेबाट सुनिता डङ्गोलको उम्मेदवारी छ ।

पोखरामा ६८८ जना उम्मेदवार

गण्डकी प्रदेशको एक्लो पोखरा महानगरपालिकाको मेयर पदमा २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जहाँ रहेका ३३ वडामा समेत गरी सबै पदमा कुल ६८८ जनाले उम्मेदवारी दिएका छन् । सो महानगरमा उपमेयरमा भने ८ जनाको मात्रै उम्मेदवारी परेको छ ।

चितवनमा रेनु र विजय सुवेदीको प्रतिश्पर्धा

दोस्रो कार्यकालका लागि गठबन्धनबाट भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालले उम्मेदवारी दिएकी छन् । यस्तै एमालेबाट राप्रपासमेतको सहयोगमा भरतपुरमा विजय सुवेदीको उम्मेदवारी रहेको छ।

निकै चासोका रूपमा हेरिएको भरतपुर महानगरपालिकामा मेयर पदमा २६ जनाले उम्मेदवारी दिएका छन् । जुन महानगरपालिकामा काँग्रेसका जगन्नाथ पौडेलले समेत बागी उम्मेदवारी दिएपछि नतिजा चासोका साथ हेरिएको छ । भरतपुरमा महानगरपालिकामा १० जनाले उपमेयरमा उम्मेदवारी दिएका छन् भने सबै वडामा गरी ५३५ जनाको उम्मेदवारी परेको छ । भरतपुरमा ३२ वडा रहेको छ ।

वीरगन्जको मेयरमा ३० जनाको उम्मेदवारी

आयोगको विवरणअनुसार मधेस प्रदेशको एक्लो महानगर वीरगन्ज महानगरपालिकाको मेयर पदमा ३० जनाले उम्मेदवारी दिएका छन् । यस्तै १० जनाले उपमेयर पदमा उम्मेदवारी दिएका छन् ।

वीरगन्जका ३२ वटै वडामा विभिन्न पदमा गरी फरक फरक दलबाट ८८१ जनाको उम्मेदवारी परेको छ । जुन अन्य महानगरपालिकाको भन्दा उम्मेदवारी सङ्ख्या धेरै हो । वीरगन्जमा मेयर पदमा सत्ता गठबन्धनबीच तालमेल भएर जसपाले उम्मेदवार उठाएको छ । जसपाबाट राजेशमान सिंह उम्मेदवार रहेका छन् भने उपमेयर नेपाली काँग्रेसले पाएको छ । यस्तै एमालेले लोसपासँग तालमेल गरेको छ । लोसपाले तालमेलअनुसार उपमेयर पाएको छ । एमालेबाट वीरगन्जमा मेयरका उम्मेदवार विजय सरवागी रहेका छन् ।

विराटनगरमा ७२३ उम्मेदवार

प्रदेश नम्बर १ को एक्लो महानगर रहेको मोरङको विराटनगर महानगरपालिकामा मेयर–उपमेयर सहित ७२३ जना उम्मेदवार चुनावी मैदानमा छन् । विराटनगरमा मेयर पदमा सत्ता गठबन्धनबाट काँग्रेसका नागेश कोइराला उम्मेदवार रहेका छन् भने एमालेबाट सागर थापा उम्मेदवार रहेका छन् । विराटनगरमा एमाले एकल भिडन्तमा छ । यद्यपि विराटनगरमा गठबन्धनमा खटपट भएकाले एमालेलाई फाइदा रहेको बताइन्छ ।

विराटनगरमा एमालेले उपमेयरमा शिल्पा कार्कीलाई उम्मेदवार बनाएको छ भने गठबन्धनबाट जसपाले अमरेन्द्र यादवलाई उम्मेदवार बनाएको छ । विराटनगरमा प्रमुख पदमा १३ जनाको उम्मेदवारी पर्दा उपमेयरमा १४ जनाको उम्मेदवारी परेको छ । अघिल्लो पटक विराटनगरमा काँग्रेस नै विजयी भएको थियो । देशभर बागमती प्रदेशमा ३, मधेस प्रदेशमा १, प्रदेश १ मा १ र गण्डकी प्रदेशमा १ महानगरपालिका हुँदा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश महानगरपलिकाविहीन रहेको छ । महानगरको चुनावले राष्ट्रिय राजनीतिलाई प्रभावित पार्ने भएकोले सबै दलहरुले महत्वका साथ हेरेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ९ : ५९ बजे