Logo

खेलकुद

सिटी र लिभरपुलको जित, नर्विच रेलिगेशनमा



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा उपाधि दाबेदार म्यानचेस्टर सिटी र लिभरपुलले आ–आफ्नो खेल जित्दा नर्विच भने पराजित हुँदै रेलिगेशनमा परेको छ ।

शीर्ष स्थानको सिटीले लिड्स युनाईटेडलाई ४–० अन्तरले पराजित गरेको हो । सिटीको जितमा रोड्री, नाथन एके, ग्राबियल जिसस र फर्नान्डिन्होले १–१ गोल गरे ।

पहिलो हाफमा एक गोल गरेको सिटीले दोस्रो हाफमा तीन गोल गरेको थियो ।

जितसँगै सिटी ३४ खेलबाट ८३ अंक जोडेर शीर्ष स्थानमा छ । लिड्स ३४ अंक जोडेर १७औं स्थानमा छ ।

अर्को खेलमा लिभरपुलले न्युकासललाई १–० अन्तरले हरायो । लिभरपुलको जितमा नेबी केइटाले निर्णायक गोल गरे । खेलको १९औं मिनेटमा केइटाको गोलमा लिभरपुलले महत्त्वपूर्ण तीन अंक जोगायो ।

जितसँगै लिभरपुलले ३४ खेलबाट ८२ अंक जोडेको छ र दोस्रो स्थानमा छ । न्युकासल ४३ अंक जोडेर नवौं स्थानमा छ ।

एस्टन भिल्लासँग २–० अन्तरले पराजित भएसंगै नर्विच रेलिगेसनमा परेको हो ।रेलिगेशनमा परेको नर्विचले आगामी सिजन च्याम्पियनसिप खेल्नेछ ।

खेलमा एस्टनलाई जित दिलाउन ओली वाट्कीन्स र ड्यानी इन्ग्सले १–१ गोल गरे । जितसँगै एस्टन ४० अंक जोडेर १३ औं स्थानमा स्थानमा छ । नर्विच २१ अंक जोडेर पुछारमा छ ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ७ : ३२ बजे