Logo

समाचार

एनआरएनएद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ राष्ट्रिय समन्वय परिषदको सौजन्यमा भरतपुर महानगरपालिकालाई एनआरएनएले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालको संयोजनमा भरतपुर महानगरपालिकालाई सोमवार १० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो ।

तीमध्ये ७ थान भरतपुरलाई र ३ थान माडी नगरपालिकालाई उपलब्ध गराईने एनआरएनएले जनाएको छ । ९३ हजार थान मास्क ट्राफिक प्रहरी, तथा महानगरको फोहोर व्यवस्थापनमा खटिने कर्मचारी लगायतलाई उपलब्ध गराउने गरि हस्तन्तरण गरेको संघका प्रवक्ता सोम सापकोटा जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि महानगरप्रमुख रेनु दाहालले पसिना बगाएर कमाएकोबाट भएको बचतमार्फत महानगरलाई सहयोग गरेको भन्दै धन्यवाद दिइन् ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष डा बद्री केसीले भैपरी आउने समस्याका लागि सहयोग गर्न आफूहरु तयार रहेको बताए ।

नेपालबाहिर ११० बढी देशमा ८० लाख नेपालीहरु बसोवास गर्दै आइरहेको र ती सवैको अभिभावक एनआरएनए रहेको जानकारी दिँदै स्वदेशका हरेक ठाउँमा पुग्ने बताए । भरतपुर महानगरसँग पनि समन्वय सहकार्य गर्दै अघि बढ्न आफूहरु तयार रहेको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्व परिषदको उप–महासचिव ओम गुरुङले महानगरमा भएको विकासबारे प्रशंसा गर्दै आवश्यक सहयोग र सहकार्य गर्न तयार रहेको बताए ।

गैरआवासीय नेपाली संघ हङकङका अध्यक्ष गोकर्ण ढकालले देशमा आपतविपत पर्दा गैरआवासीय नेपाली संघ सधैँ सहयोगी हात फैलाउन तयार रहने र कोभिड महामारीमा देश तथा विदेशमा रहेका नेपालीहरुलाइ सहयोग गर्दै आइरहेको बताए ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका १५ वटा वडाका वडाअध्यक्षहरु लगायत एनआरएनए पदाधिकारीहरुको उपस्थिति थियो ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ९ : ५२ बजे