Logo

समाचार

बैतडीमा विद्युत सामग्रीको चरम दुरुपयोग



बैतडी । बैतडीका अधिकांश ग्रामीण क्षेत्रमा विद्युत विस्तार हुन नसक्दा त्यहाँका बासिन्दाहरु अन्धकारमा बस्नुपरेको बारे सबै निकाय जानकार नै छन् । केही ग्रामिण क्षेत्रमा बिद्युत तार र खम्बा अपुग हुदाँ विजुली बल्न सकेको छैन् । तर, कतिपय ठाउँमा भने पुगाएका विद्युत खम्बा र तारहरुको चरम दुरुपयोग भएको पाइन्छ ।

जिल्लाको सिगास गाउँपालिका वडा न. ७ न्वाघरमा एक किसानको खेतबारीमा विद्युत तारहरुले बार लगाइएको छ ।

स्थानीय किसान रामसिंह साउदले आफ्नो २ रोपनी खेतमा उक्त विद्युत तारहरुहरुको बार लगाएका हुन् । सो क्षेत्र मुख्य बाटो छेउमै पर्ने भएकाले आवजजावत गर्ने सबैले तारको दुरुपयोग प्रष्ट देख्छन् तर कोही बोल्दैनन् ।

खेतको बार मात्रै नभई आल्मोनियनका विद्युत तारहरुबाट आरन व्यवसायीहरुले कराई, मान्द्रो, ताप्के, ढकेरा जस्ता भाडाकुडा बनाउने गर्दछन् । सिगास ४ मा गडतोलामा बस्ने करिब १ दर्जन आरन व्यवसायीले उक्त सामग्रीको दुरुपयोग गरेको स्थानीय सुरेन्द्र साउदले बताए ।

उक्त तार स्थानीयतह हुनु पुर्व नै वैकल्पीक उर्जा प्रर्वधन केन्द्रले न्वाघरीगाड लघु जलविद्युत आयोजनाका लागि आएको हो । उक्त जलविद्युत अहिले पुर्ण रुपमा बन्द भैसकेको छ । उक्त विद्युत सञ्चालनका बखत प्रयोग भएका काठका खम्बाहरु ५ बर्षमै कुहिएपछी तारको स्थानीयबासीले भाडाँकुडा बनाउनुका साथै खेतबारीमा प्रयोग गरेका हुन् ।

यसैगरी सिगास १ मा एक पक्की घर निर्माणाधीन अवस्थामा छ । स्थानीय लोकराज भट्टको उक्त घरमा पिल्लरका लाथि छडको सट्टा विद्युतका खम्बाहरु प्रयोग गरिएका छन् भने, शौचालयको खाडलमा समेत विद्युत खम्बाहरुको प्रयोग गरिएको छ । भट्टले शौचालयको खाडलमा विद्युत पोलहरु तेर्साएर माटो हालेका छन् । २०७५ मा स्थानीय तह र विद्युत प्राधिकरणको संयुक्त लगानीमा विद्युत आयोजना निर्माण हुदाँ उनि आफै उपभोक्ता समिति अध्यक्ष रहेकाले विद्युत सामग्रीको दुरुपयोग गरेको स्थानीयबासीको भनाई छ ।

यस्तै केही ठाउँमा ठेकेदारको लापरवाहीले गर्दा गाउँघरमा विद्युत तार र पोल पुगाइएको छ । तर, जडान गरिएको छैन् । तार, पोल तथा टान्सफर्मरहरु अलपत्र छाडिएका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका वडा न. ५ र ६को विभिन्न खोलाहरुमा तार, पोल तथा मेसिनहरु अपलत्र छाडिएका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ९ : २६ बजे