Logo

मुख्य समाचार

व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा जानेले स्वघोषणा पत्र अनिवार्य भर्नुपर्ने



काठमाडौं । व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका अधिकांश नेपाली विदेशमा अलपत्र पर्न थालेपछि सरकारले त्यस्तो बाटोबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिले स्वघोषणा पत्र अनिवार्य भर्नुपर्ने व्यवस्था गरेको छ ।

वैदेशिक रोजगारीका नाममा भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृति लिएर गएका व्यक्ति अलपत्र पर्ने, ठगिने, सरकारले तोकेभन्दा बढी शुल्क तिर्न बाध्य पारिने जस्ता प्रवृत्ति देखिएपछि वैदेशिक रोजगार विभागले स्वघोषणा पत्र भर्नुपर्ने व्यवस्था गरेको हो ।

तत्कालका लागि साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स (युएई), क्रोएसिया, अल्बानिया, पोल्यान्ड, रोमानिया, स्लोभाकिया, हङ्गेरी, माल्दोभा, बेलारुसमा भिजिट भिसा तथा तथा व्यक्तिगत श्रम स्वीकृतिमा जाने व्यक्तिले स्वघोषणा पत्र अनिवार्य भर्नुपर्ने विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिए ।

वैदेशिक रोजगारीमा व्यक्तिगतरुपमा जाने श्रमिकले श्रम स्वीकृति लिँदा नै त्यस्तो स्वघोषणा भर्नुपर्ने छ । उक्त व्यवस्था आगामी वैशाख १ गतेदेखि कार्यान्वयनमा आउने विभागले जनाएको छ । विभागले ‘व्यक्तिगत श्रम स्वीकृति लिने प्रक्रियासम्बन्धी निर्देशिका–२०६९’ अनुसार सो व्यवस्था लागू गरेको हो ।

व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा जाने श्रमिकले राहदानीको प्रतिलिपि, सम्बन्धित सरकारबाट जारी प्रवेशाज्ञाको प्रतिलिपि, रोजगार सेवा, सर्त, सुविधा र तलब (पारिश्रमिक) स्पष्ट उल्लेख भएको करार वा सम्झौतापत्रको प्रतिलिपि दूतावासमा पेस गर्नुपर्नेछ ।

व्यक्तिगत श्रममा जाने व्यक्तिले रोजगारदाता कम्पनी वा प्रायोजकमार्फत अङ्ग्रेजी भाषामा अनुवाद गरिएका कागजात प्रमाणीकरणका लागि दूतावासमा दिनुपर्नेछ । विभागले आगामी वैशाख २ देखि संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्रै जारी गर्ने भएको छ ।

श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई प्रविधिमैत्री बनाउँदै लैजाने रणनीतिअनुसार संस्थागत श्रम स्वीकृति अनलाइनबाट जारी गर्ने व्यवस्था मिलाइएको विभागका महानिर्देशक पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ७ : २६ बजे