Logo

विश्व

रुसी हमलामा युक्रेनका कम्तीमा ५३ ओटा ऐतिहासिक सम्पदा क्षतिग्रस्तः यूनेस्को



काठमाडौं । रुसी हमलामा युक्रेनमा धार्मिक भवन र संग्रहालयसहित कम्तीमा ५३ ऐतिहासिक भवन तथा क्षेत्र क्षतिग्रस्त भएको राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन यूनेस्कोले जनाएको छ ।

‘यो पछिल्लो सूची हो, तर यो पूर्ण छैन । किनकि हाम्रा विज्ञहरूबाट युक्रेनी अधिकारीहरुले फाइल गरेका धेरै रिपोर्टहरू प्रमाणीकरण गर्ने कार्य जारी छ’, युनेस्कोका प्रवक्ताले भने ।

युनेस्कोले देशको उत्तर तथा पूर्वी भागमा क्षतिग्रस्त क्षेत्रको एउटा सूची नै सार्वजनिक गरेको छ । युक्रेनी अधिकारीहरूले प्रदान गरेको सूचना पुष्टि गर्न यूनेस्कोले घटनास्थलबाट स्याटलाइट तस्बीरहरु र साक्षीका रिपोर्टहरू प्रयोग गरेको प्रव्रक्ताले बताए ।

युनेस्कोका अनुसार रुसी गोलाबारीमा पूर्वी खार्किभ क्षेत्रका एक दर्जनभन्दा बढी क्षेत्रहरु क्षतिग्रस्त भएका छन् । क्षतिग्रस्त भवनमा चर्चदेखि आधुनिक सम्पदा छन् । क्षतिग्रस्त सम्पदाहरुमध्ये पाँच ओटा राजधानी किभ र अरु पाँच ओटा उत्तरी युक्रेनको चेर्निभका छन् ।

चेर्निभ ऐतिहासिक स्थलहरुको घरसमेत मानिन्छ । यूनेस्कोका अनुसार रुसी हमलमा समग्रमा २९ ओटा धार्मिक स्थल, १६ ओटा ऐतिहासिक भवन, चार ओटा संग्रालय र चार ओटा स्मारक क्षतिग्रस्त भएका छन् । सूचीमा रुसी सेनाले घेरा हालेको मारिओपोल र खेर्सन सहरको विवरण भने समावेश छैन् ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  १२ : २३ बजे