Logo

मुख्य समाचार

प्रधानमन्त्री शाह स्वास्थ्य परीक्षणपछि कालो चस्मा लगाएर संसद् जाने



काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले स्वास्थ्य परीक्षणपछि चिकित्सकको सुझावअनुसार कालो चस्मा लगाएर संसद् बैठकमा उपस्थित हुने भएका छन्।

प्रधानमन्त्री शाहको सचिवालयले उनको स्वास्थ्य परीक्षणसम्बन्धी चिकित्सकीय रिपोर्टसहित संसद् सचिवालयलाई पत्र पठाउँदै बैठकमा कालो चस्मा लगाउनुपर्ने अवस्था रहेको जानकारी गराएको हो।

सचिवालयका अनुसार प्रधानमन्त्री शाहको साउन २२ गते आँखा परीक्षण गरिएको थियो। डा. सचित ढकालले परीक्षणपछि उनलाई कालो चस्मा लगाउन सुझाव दिएका थिए। सोही चिकित्सकीय रिपोर्टका आधारमा साउन २६ गते संसद् सचिवालयलाई जानकारी गराइएको हो।

यसअघि संसद्मा कार्यव्यवस्था परामर्श समितिको बैठकले कालो चस्मा लगाउन निषेध गर्ने निर्णय गरेको थियो। चिकित्सकीय कारण देखाउँदै प्रधानमन्त्री शाहलाई भने उक्त निर्णयबाट छुट दिनेबारे संसद् सचिवालयलाई जानकारी गराइएको हो।

प्रधानमन्त्री शाहले भोलि संसद् बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने तयारी गरेका छन्।

प्रकाशित मिति : ९ भदौ २०८३, मंगलबार  १२ : ५६ बजे