Logo

Breaking News 1

नाइमा एक्स्पोमा भीड बढेपछि शनिबार–आइतबार विशेष तयारी, पार्किङमा जोड



काठमाडाैं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) का अनुसार एक्स्पोमा पहिलो चार दिनमै १ लाख ८ हजारभन्दा बढी अवलोकनकर्ता पुगेका छन्। बिदाका दिनमा अझ बढी भीड हुने अनुमान गर्दै आयोजकले विशेषगरी पार्किङ व्यवस्थापनमा ध्यान दिएको जनाएको छ।

नाइमा कार्यकारी निर्देशक राजकुमार दुलालका अनुसार एक्स्पोका सुरुवाती दिनमै भृकुटीमण्डप क्षेत्रका खुला स्थान तथा नेपाल पुलिस क्लबका दुवै तला पार्किङका लागि प्रयोग गर्दा पनि पर्याप्त स्थान अभाव भएको थियो । त्यसलाई मध्यनजर गर्दै शनिबार र आइतबारका लागि थप पार्किङ व्यवस्थापन गरिएको उनले बताए ।

एक्स्पो व्यवस्थापन साझेदार मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक श्रीजल भट्टराईका अनुसार एक्स्पो खुल्ने समय बिहान ११ बजे भए पनि १० बजेदेखि नै प्रवेशद्वारमा अवलोकनकर्ताको लाइन लाग्ने गरेको छ।

एक्स्पोमा पहिलो दिन २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार र चौथो दिन ३१ हजारभन्दा बढीले अवलोकन गरेको आयोजकले जनाएको छ। एक्स्पो अवधिभर करिब डेढ लाख अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ।

५२ नयाँ मोडल सार्वजनिक

एक्स्पोमा हालसम्म विभिन्न ब्रान्डले ५२ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरिसकेका छन्। ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनीमा राखिएका छन्।

विशेषगरी विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधनमा अवलोकनकर्ताको आकर्षण देखिएको छ। युवाको दुईपांग्रे सवारीसाधनमा पनि उल्लेख्य रुचि रहेको आयोजकले जनाएको छ।

अवलोकनकर्ताले सवारीसाधनको ब्याट्री क्षमता, मोटर, रेन्ज, आफ्टर–सेल्स सर्भिस, ब्याट्रीको वारेन्टी तथा ग्यारेन्टी र रिसेल भ्यालुका विषयमा बढी चासो राखिरहेका छन्।

ग्राहक आकर्षित गर्न कम्पनीहरूले मूल्यमा छुट, एक वर्षको बिमा, एक वर्षको सवारी कर, निःशुल्क सर्भिसिङ तथा सहुलियत ब्याजदरमा कर्जालगायत सुविधा उपलब्ध गराएका छन्। बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूले पनि सवारी खरिदका लागि विशेष अफर र सहुलियत कर्जा दिइरहेका छन्।

ब्याट्री रिसाइकल र इथानोल ब्लेन्डिङमा छलफल

एक्स्पोअन्तर्गत शुक्रबार ‘नाइमा मोबिलिटी संवाद’मा ‘द्यबततभचथ च्भअथअभि बलम भ्तजबलय िद्यभिलमष्लन ष्ल ँगभ’ि विषयमा छलफल भएको छ।

नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पो साउन ३१ गतेसम्म सञ्चालन हुनेछ। एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको सहभागिता छ। विभिन्न देशका नयाँ ब्रान्ड तथा नयाँ मोडलका विद्युतीय सवारीसाधन एक्स्पोका प्रमुख आकर्षण बनेका छन्।

प्रकाशित मिति : ३० श्रावण २०८३, शनिबार  ८ : ०५ बजे