Logo

मुख्य समाचार

जापानिज एजुकेसन ग्रुप फुटसल आइतबार काठमाडौंमा हुने



काठमाडौं । पहिलो संस्करणको जापानिज एजुकेसन ग्रुप फुटसल प्रतियोगिता आइतबार काठमाडौंमा हुने भएको छ । 

जापानिज भाषा अध्ययन तथा परामर्श दिँदै आएको जापानिज एजुकेसन ग्रुपको आयोजनामा बुढानीलकण्ठ नगरपालिकास्थित बालुवाखानी कपअन स्पोट्र्स सेन्टरमा प्रतियोगिता आयोजना हुन लागेको हो ।

प्रतियोगितामा १० टोलीले सहभागिता जनाउनेछन् । लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ ।

आयोजकका अनुसार सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा ज्योमोगाङ इन्टरनेसनल कन्सल्टेन्सी, ओसेवा एजुकेशनल कन्सल्टेन्सी, शिकाता एजुकेशनल कन्सल्टेन्सी, युकिगुनी एजुकेसनल कन्सल्टेन्सी र लोमस अब्रोड स्टडी प्रालि रहेका छन्।

त्यस्तै समूह ‘बी’ मा इकिगाई एजुकेशनल कन्सल्टेन्सी, तिरुपाती एचआर सोलुसन प्रालि, कोउम्योउ इन्टरनेसनल ल्याङ्ग्वेज एकेडेमी, ओपन इन्टरनेसनल एकेडेमी प्रालि र न्यु होराइजन माइग्रेसन एन्ड एजुकेसन प्रालि रहेका छन्।

दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। लिग चरणका खेल १४ मिनेटका हुनेछन् भने सेमिफाइनल र फाइनल १५ मिनेटका खेलाइने आयोजकले जनाएको छ।

प्रतियोगिताको उपविजेताले ७५ हजार तथा तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्। प्रतियोगिता फिफा रेफ्री माया लामाले सञ्चालन गर्नेछिन्।

त्यस्तै, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकिपरलाई पनि ट्रफी प्रदान गरिनेछ । प्रतियोगितामा प्रत्येक टोलीबाट विद्यार्थीका साथै गुरु र सञ्चालकसमेत अनिवार्य रूपमा सहभागी हुनुपर्ने व्यवस्था गरिएको छ ।

यसले अध्ययनरत विद्यार्थीमा अनुशासन विकास गर्नुका साथै मेहनती र अनुशासित युवा जनशक्ति निर्माणको सन्देश दिने उद्देश्य रहेको आयोजक जापानिज एजुकेसन ग्रुपका संयोजक रूपसिंह तामाङले बताए । प्रतियोगिता आयोजना गरेर अध्ययनसँगै खेलकुद र अनुशासनलाई जोड्न खोजिएको उनले बताए ।

प्रकाशित मिति : ३० श्रावण २०८३, शनिबार  ८ : ०२ बजे