ग्वाङ्झाउ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन तथा ‘आरोहण–२०२६’ मा सहभागी हुन नेपालसहित विभिन्न देशबाट प्रतिनिधि तथा संघका अगुवाहरू ग्वाङ्झाउमा भेला भएका छन्। अगस्ट १५ देखि १७ सम्म हुने सम्मेलनलाई सभ्य, व्यवस्थित र भव्य बनाउन आयोजकले अन्तिम तयारी पूरा गरेको जनाएको छ।
सम्मेलनमा सहभागी हुन प्रतिनिधिसभाका विपक्षी दलका नेता तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, कांग्रेसकी प्रमुख सचेतक बास्ना थापा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल, मनिष झा र खगेन्द्र सुनार तथा नेकपा एमालेका प्रमुख सचेतक ऐन महरलगायत सांसद ग्वाङ्झाउ पुगिसकेका छन्।
एमालेका सांसद युवराज दुलाल, क्षितिज थेबे, खुश्बु ओली र एरेन राई तथा पूर्वसांसद सूर्य पाठक र अरुणकुमार सुवेदीलगायतको समेत सम्मेलनमा सहभागिता रहेको छ। सम्मेलनमा विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिको पनि उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ।
सम्मेलनका विभिन्न सत्रमा सहभागी सांसदहरूले नेपाल, प्रवासी नेपाली तथा डायस्पोरासँग जोडिएका विषयमा धारणा राख्ने कार्यक्रम रहेको छ।
एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, सल्लाहकार भवानी ओली, अध्यक्ष डा. हेमराज शर्मा, वरिष्ठ उपाध्यक्ष रोबिन शेरचन, उपाध्यक्ष खगेन्द्र न्यौपाने, रोजिना प्रधान राई, महेन्द्र ओली, दधिवाल खड्का, रबिन बज्राचार्य, महिला उपाध्यक्ष टीका गुरुङ तथा महासचिव डा. चिरञ्जीवी खड्कालगायत केन्द्रीय नेतृत्व पनि सम्मेलनका लागि ग्वाङ्झाउ पुगेका छन्।
त्यसैगरी एसिया प्यासिफिक क्षेत्रीय संयोजक दीपक कँडेल, उपक्षेत्रीय संयोजक भविन्द्र बस्नेत, लालसिंह खड्का, राकेशप्रसाद महतो तथा मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठलगायत विभिन्न क्षेत्रका पदाधिकारी सम्मेलनस्थलमा पुगेका छन्। एसिया प्यासिफिक क्षेत्रअन्तर्गतका विभिन्न देशका एनसीसी अध्यक्ष तथा पदाधिकारीहरूको समेत सहभागिता रहेको आयोजकले जनाएको छ।
लगानीदेखि सुरक्षित वैदेशिक रोजगारसम्मका विषयमा छलफल
क्राउन प्लाजा ग्वाङ्झाउ सिटी सेन्टर होटलमा हुने सम्मेलनमा नेपालमा व्यापार तथा लगानी प्रवद्र्धन, लजिस्टिक्स क्षेत्रको विकास, एसिया प्यासिफिक क्षेत्रका एनसीसीहरूको संस्थागत सुदृढीकरण, सुरक्षित वैदेशिक रोजगार, पुनःएकीकरण तथा आप्रवासी कामदारका अधिकारलगायत विषयमा छलफल हुनेछ।
त्यस्तै, सीमापार मानव बेचबिखन नियन्त्रण, गैरआवासीय नेपाली नागरिकताको निरन्तरता र अधिकार, पर्वतीय तथा स्वास्थ्य पर्यटनमार्फत नेपालको पर्यटन प्रवद्र्धन, महिला सशक्तीकरण, दोस्रो पुस्ताका नेपालीको पहिचान तथा नेतृत्व विकास र एनआरएनएको विश्वव्यापी सञ्जाल विस्तार सम्मेलनका प्रमुख एजेन्डा छन्।
एनआरएनएको सांगठनिक पहिचान र भावी रणनीतिलाई नयाँ ढंगले अघि बढाउने उद्देश्यसहितको ‘रि–ब्रान्डिङ’ सत्रलाई सम्मेलनको विशेष आकर्षणका रूपमा हेरिएको छ। बदलिँदो विश्व परिवेशमा डायस्पोरा संस्थाको भूमिका, संरचना र प्राथमिकताबारे उक्त सत्रमा बहस हुने आयोजकले जनाएको छ।
विभिन्न प्लेनरी तथा विषयगत सत्रपछि अगस्ट १६ मा ‘ग्वाङ्झाउ घोषणापत्र–२०२६’ जारी गर्दै सम्मेलनको औपचारिक समापन गरिनेछ। घोषणापत्रमार्फत सम्मेलनमा उठेका प्रमुख सवाल र आगामी कार्यदिशालाई संस्थागत रूपमा अघि बढाउने तयारी छ।
गुलोङ गोर्ज भ्रमण पनि
सम्मेलनको अन्तिम दिन अगस्ट १७ मा सहभागी प्रतिनिधिहरूका लागि ग्वाङ्झाउबाट करिब ७०–८० किलोमिटर टाढा रहेको छिङयुआनस्थित प्रसिद्ध गुलोङ गोर्ज ग्लास ब्रिज (न्गयिलनहष्ब) को अवलोकन भ्रमणसमेत आयोजना गरिएको छ।
एसिया प्यासिफिक क्षेत्रीय संयोजक दीपक कँडेलको नेतृत्वमा आयोजक टोलीले सम्मेलनलाई व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन लामो समयदेखि तयारी गर्दै आएको जनाएको छ।
सहभागीहरूको व्यवस्थापन, कार्यक्रम सञ्चालन, विषयगत सत्रको समन्वय तथा विभिन्न देशबाट आउने एनसीसी प्रतिनिधिबीचको सहकार्यलाई प्राथमिकतामा राखिएको छ।
नेपालसहित एसिया प्यासिफिक क्षेत्रका विभिन्न मुलुकबाट संघका नेतृत्व, पदाधिकारी, प्रतिनिधि, व्यवसायी तथा सरोकारवालाको उल्लेख्य सहभागिताले ‘आरोहण–२०२६’ लाई विगतका सम्मेलनभन्दा व्यापक र अर्थपूर्ण बनाउने आयोजकको अपेक्षा छ।
सम्मेलनले नेपाल र एसिया प्यासिफिक क्षेत्रमा रहेका गैरआवासीय नेपालीबीचको सम्बन्ध थप मजबुत बनाउँदै नेपालमा लगानी, पर्यटन प्रवद्र्धन, सुरक्षित वैदेशिक रोजगार र आर्थिक समृद्धिमा डायस्पोराको योगदान बढाउने दिशामा ठोस सन्देश दिने अपेक्षा गरिएको छ।








प्रतिक्रिया