Logo

मुख्य समाचार

जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका तीन रिएक्टर बन्द



लिले । उत्तरी फ्रान्सस्थित एक आणविक ऊर्जा केन्द्रमा जेलीफिसको झुण्ड प्रवेश गरेपछि तीनवटा रिएक्टर बन्द गरिएको छ ।

ऊर्जा कम्पनी ईडीएफका अनुसार रिएक्टर चिस्याउन प्रयोग हुने पानी तान्ने पम्पमा जेलीफिसको झुण्ड अड्किएपछि सोमबार ती रिएक्टर बन्द गरिएको हो ।

ईडीएफका अनुसार प्लान्टका तीन रिएक्टर बन्द गरिनुका साथै चौथो रिएक्टरको उत्पादन क्षमता आधा घटाइएको छ । अर्को एक रिएक्टर भने नियमित मर्मतसम्भारका लागि यसअघि नै बन्द गरिएको थियो ।

हाल एउटा रिएक्टर मात्र पूर्ण क्षमतामा सञ्चालनमा छ । ईडीएफले उक्त घटनाबाट प्लान्टको सुरक्षा, कर्मचारी तथा वातावरणमा कुनै असर नपरेको जनाएको छ ।

डन्कर्क सहरनजिकै रहेको ग्राभलिन्स आणविक ऊर्जा केन्द्रमा ९०० मेगावाट क्षमताका छवटा रिएक्टर छन् । यो पश्चिमी युरोपकै ठूलो आणविक ऊर्जा केन्द्रमध्ये एक हो ।

यसअघि पनि जेलीफिसको झुण्डका कारण उक्त केन्द्रमा समुद्री पानी तान्ने पम्प बन्द भएपछि रिएक्टरको सञ्चालन अस्थायी रूपमा रोकिएको थियो । फ्रान्सले यस वर्ष अत्यधिक गर्मी र खडेरीका कारण आणविक ऊर्जा उत्पादनमा समस्या झेल्दै आएको छ ।

अत्यधिक तापक्रमका कारण जुन र जुलाईमा ईडीएफले केही आणविक रिएक्टर बन्द गरेको थियो । ईडीएफका तथ्याङ्कमा आधारित एएफपीको गणनाअनुसार, पछिल्लो घटनाअघि आइतबार फ्रान्सको आणविक ऊर्जा उत्पादन १५ दशमलव छ प्रतिशतले घटेको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  १० : ३६ बजे