काठमाडौं । शिवपुर सबस्टेशनमा जम्पर कन्डक्टर चुडिँदा एकीकृत नेपाल विद्युत् प्रणाली (आईएनपीएस) मा आंशिक अवरोध उत्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार शनिबार राति करिब १० बजे मोतिपुर–शिवपुर १३२ केभी प्रसारण लाइनको सर्किट–२ अन्तर्गत पीटी र आइसोलेटर बीचको जम्पर कन्डक्टर चुडिएर ‘ओपन कन्डक्टर फल्ट’ भएपछि विद्युत् प्रणाली प्रभावित भएको हो ।
प्राधिकरणका अनुसार सर्किट–२ बन्द भएपछि सर्किट–१ मा अत्यधिक भार (ओभरलोड) परेको थियो । यसका कारण पश्चिमी क्षेत्रमा करिब १८० मेगावाट विद्युत् भार (लोड) गुम्न गएको थियो ।
त्यसपछि ओभरलोड तथा ओभरकरेन्टका कारण पथलैया–चपुर र पथलैया–ढल्केबर १३२ केभी प्रसारण सर्किटहरू ट्रिप भएका थिए । यस घटनाले पश्चिम तथा मध्य क्षेत्रका विद्युत् उत्पादन केन्द्रहरूमा ‘ओभर फ्रिक्वेन्सी’ अवस्था सिर्जना भएको र उत्पादन युनिटहरू क्रमशः ट्रिप हुँदा प्रणालीमा थप अवरोध उत्पन्न भएको प्राधिकरणले जनाएको छ ।
घटनापछि चुडिएको जम्पर कन्डक्टरको मर्मत तथा विद्युत् प्रणाली पुनःस्थापनाका लागि प्राविधिक टोली तत्काल परिचालन गरिएको थियो । राति नै मर्मत कार्य सम्पन्न भएपछि पथलैया–चपुर १३२ केभी सर्किटमार्फत मध्य तथा प्रमुख लोड क्षेत्रहरूमा विद्युत् आपूर्ति पुनःस्थापना गरिएको थियो । त्यसैगरी बुटवल र कोहलपुर क्षेत्रको विद्युत् आपूर्ति सम्बन्धित ‘आइल्यान्ड ग्रिड’ मार्फत पुनः सञ्चालनमा ल्याइएको थियो ।
पछि हेटौंडा–कुलेखानी–स्युचाटार ६६ केभी तथा हेटौंडा–मातातीर्थ १३२ केभी करिडोरमार्फत सम्पूर्ण प्रणाली क्रमशः पूर्ण रूपमा पुनःस्थापना गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले आकस्मिक प्राविधिक समस्याका कारण केही समय विद्युत् आपूर्ति प्रभावित हुँदा सेवाग्राहीमा परेको असुविधाप्रति दुःख व्यक्त गर्दै क्षमायाचना गरेको छ ।








प्रतिक्रिया