काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले चालु आर्थिक वर्षका लागि स्वीकृत नीति, योजना तथा कार्यक्रमको प्राथमिकता निर्धारण गरेर शतप्रतिशत कार्यान्वयनको सुनिश्चित गर्न निर्देशन दिएकी छन् । सोमबार सहरी योजना आयोग, विभाग, आयोजना, सचिवालय र कार्यक्रमका प्रमुखहरूसँगको बैठकमा उनले यस्तो निर्देशन दिएकी हुन् ।
उनले योजना अनुगमन तथा मूल्याङ्कन एकाइले उपलब्ध गराएको ढाँचामा एक हप्ताभित्र वार्षिक कार्य योजना बनाएर पेस गर्न, प्रमुख प्रशासकीय अधिकृत र विभागीय प्रमुख बिच सूचक सहितको कार्य सम्पादन सम्झौतालाई साउनभित्रै सम्पन्न गर्न, सार्वजनिक खरिद प्रक्रियामा लैजानु पर्ने योजनालाई असोजभित्र सूचना प्रकाशन गरिसक्न सम्बन्धित विभागलाई निर्देशन दिइन् ।
‘वडाको चुस्त सेवाका लागि केन्द्रबाट प्रदान गर्नुपर्ने सहायता प्रदान गर्नु, मितव्ययी कार्यालय सञ्चालन प्रबन्ध गर्नु, पुराना बस्तु तथा सामान मर्मत गरेर चलाउन मिल्छ भने मर्मत गराउनु । यदि मर्मत गरेर चलाउन सकिँदैन भने लिलाम प्रक्रियामा लैजानू । सेवा प्रवाहमा चुस्त र सहजपन ल्याउन, वित्तीय अनुशासनमा अब्बल हुनुहोला,’ कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘गएको वर्षका असल अभ्यासलाई निरन्तरता दिनुहोला । करको दायरा फराकिलो बनाउनुहोला । सहरी योजना आयोगबाट प्राप्त गर्नु पर्ने सहायताका लागि ३ दिनभित्र माग पठाउनुहोला ।’
बैठकमा उनले आन्तरिक तथा बाह्य समन्वय र सञ्चारलाई प्राथमिकतामा राख्नुपर्ने बताइन् । बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले उत्तरदायी, पारदर्शी र मितव्ययी महानगरपालिकाको पहिचानका लागि दत्तचित्तले काम गर्न आग्रह गरे । ‘हरेक नीति, योजना तथा कार्यक्रमका लक्षित नतिजा छन् । ती नतिजा प्राप्त हुने गरी योजनाबद्ध कार्यक्रम कार्यान्वयनका लागि विभागीय प्रमुखले मातहतका कर्मचारीहरूलाई मूल्याङ्कन सूचकसहित कार्य विवरण दिनुहोला,’ गुरागाईँले अपेक्षा राखे ।
बैठकमा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राज भण्डारीले आयोगसँग विभाग, आयोजना र सचिवालयहरूको निकट सम्बन्धबाट दिगो नतिजा प्राप्त हुने अपेक्षा राखे । यस्तै आयोगका सदस्य डा.सुरज काफ्लेले, साझा संकल्प र समान दृष्टिबाट नतिजा प्राप्त हुने धारणा राखे ।
बैठकपछि लगत्तै प्रमुखको सचिवालयले सबै विभाग, आयोजना र सचिवालयहरूलाई निर्णय कार्यान्वयनका लागि परिपत्र गरिसकेको छ ।








प्रतिक्रिया