सुर्खेत । कर्णाली प्रदेशमा नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया सुरु गरिएको छ । मुख्यमन्त्री पदका निम्ति बहुमतको दाबी पेस गर्न प्रदेशसभा सदस्यहरूलाई यही साउन १२ गते अपराह्न ५ बजेसम्मको समय दिएका प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रदेश प्रमुखको कार्यालयका सचिव हिरालाल चौधरीद्वारा जारी विज्ञप्तिअनुसार, मुख्यमन्त्री कँडेलले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम शनिबार साँझ ५ बजे लिखित राजीनामा दिएका थिए । प्रदेश प्रमुख जोशीले उक्त राजीनामा यही दिनदेखि लागु हुने गरी स्वीकृत गरेका छन् ।
राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका निम्ति प्रक्रिया अघि बढाएका हुन् । यो व्यवस्थाअनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यले निर्धारित समयभित्र मुख्यमन्त्री पदमा आफ्नो दाबी पेस गर्न सक्नेछन् ।
प्रदेश प्रमुखको कार्यालयले यसबारे कर्णाली प्रदेशसभा सचिवालयलाई समेत जानकारी गराएको छ । सचिवालयमार्फत प्रदेशसभा सदस्यलाई संवैधानिक व्यवस्थाअनुसार दाबी पेस गर्न आह्वान गरिएको हो ।








प्रतिक्रिया