काठमाडौं । साउन महिना सुरु भएसँगै नेपाली महिलाहरूको गला पोते र नाडी हरिया तथा पहेँला चुराले सजिने गर्दछन् । हिन्दु धर्मावलम्बी महिलाहरूका लागि साउन केवल एउटा महिना मात्र नभएर प्रकृति र संस्कृतिको संगम पनि हो ।
विशेषगरी प्रकृतिसँग एकाकार हुन हरियो पहिरन र श्रृंगारका सामग्री लगाउने यो परम्परा जति सुन्दर छ, यसको आर्थिक पाटो भने उत्तिकै परनिर्भर देखिन्छ । नेपाली महिलाले लगाउने चुरा, रङ्गीन पोते र निधारमा टल्किने टिकाका लागि वर्षेनी करोडौँ रुपैयाँ बाहिरिने गरेको छ ।
भन्सार विभागको पछिल्लो तीन आर्थिक वर्षको तथ्यांकलाई हेर्ने हो भने नेपालमा श्रृंगारका यी सामग्रीको आयात दर निकै उच्च छ । गत आर्थिक वर्ष २०८२÷८३ मा नेपालले ६० करोड ४५ लाख ८१ हजार रुपैयाँ बराबरको चुरा, टिका र पोते आयात गरेको छ ।
यस अवधिमा ३४ लाख ७० हजार ५२५ ग्रस यस्ता सामग्री भित्रिएका छन् । विभागले चुरा, पोते र टिका आयातका लागि ग्रस एकाई प्रयोग गर्दछ । एक ग्रसमा १४४ वटा चुरा हुन्छन् ।
यो तथ्यांकले के देखाउँछ भने, स्वदेशमा उत्पादनको पर्याप्त सम्भावना नहुँदा वा भएका उद्योगहरूले बजार धान्न नसक्दा नेपाली महिलाको श्रृंगार पूर्णतः विदेशी आयातमा टिकेको छ ।
यसअघिको आर्थिक वर्ष २०८१÷८२ मा ५४ करोड ६४ लाख ८८ हजार रुपैयाँ बराबरको ३८ लाख ५२ हजार ८०३ ग्रस चुरा, पोते र टिका आयात भएको तथ्यांक छ । त्यस्तै, आर्थिक वर्ष २०८०÷८१ मा पनि ५४ करोड २० लाख ७४ हजार रुपैयाँ खर्चिएर ३७ लाख ५२ हजार ग्रस यी सामग्री भित्रिएका थिए ।
विगत तीन वर्षको तथ्यांक विश्लेषण गर्दा नेपालबाट वार्षिक औसत ५३ करोड रुपैयाँभन्दा बढी रकम केवल चुरा, पोते र टिका खरिदका लागि विदेशीने गरेको देखिन्छ ।
नेपालमा यी सामग्रीहरू छिमेकी मुलुक भारत र चीनबाट मात्र नभई विश्वका विभिन्न सुदूर देशहरूबाट समेत आयात हुने गरेका छन् । भन्सार विभागको तथ्यांक अनुसार भारत र चीन बाहेक कतार, अमेरिका, उज्वेकस्तान र अस्ट्रेलिया लगायतका मुलुकबाट समेत नेपालमा चुरा, पोते र टिका आउने गरेको छ ।
सुन्दा अचम्म लाग्न सक्छ, तर नेपालीले लगाउने परम्परागत पोते र श्रृंगारका सामग्रीको व्यापारिक सञ्जाल विश्वका शक्तिशाली अर्थतन्त्र भएका मुलुकसम्म फैलिएको छ । विशेषगरी पोतेका दानाहरू तेस्रो मुलुकबाट आउने र यहाँ उनेर बजारमा पठाइने गरिन्छ ।
साउन महिनामा विशेषगरी विवाहित महिलाहरू श्रीमानको दीर्घायुको कामना गर्दै र अविवाहित युवतीहरू असल वरको कामना गर्दै शिवजीको पूजा आराधना गर्छन् । यसै क्रममा हरियो र पहेँलो रङलाई प्राथमिकता दिइन्छ । बजारमा साउन लाग्नुभन्दा हप्ता दिन अघिदेखि नै पोते र चुरा पसलहरूमा भीड लाग्न थाल्छ । सहरका गल्लीदेखि गाउँका पसलहरूसम्म हरिया चुराले भरिभराउ हुन्छन् । तर, ती पसलमा झुण्डिएका रङ्गीन सामग्रीहरूले हाम्रो व्यापार घाटाको एउटा पाटोलाई पनि प्रतिनिधित्व गरिरहेका हुन्छन् ।
संस्कृतिविद्हरूका अनुसार साउनमा हरियो लगाउनुको अर्थ प्रकृतिसँग नजिक हुनु हो । वर्षायाममा चारैतिर हरियाली हुने भएकाले त्यसैको प्रतीक स्वरूप महिलाहरूले हरियो पहिरन र श्रृंगार गर्ने गर्छन् । तर, यो सांस्कृतिक सौन्दर्यभित्र लुकेको आर्थिक परनिर्भरता भने डरलाग्दो छ । यदि स्वदेशमै यस्ता सामग्रीहरूको उत्पादनमा जोड दिने हो भने वर्षेनी विदेशिने ५० करोडभन्दा बढी रुपैयाँ जोगिन सक्छ ।
भन्सार विभागको तथ्यांकले नेपाली बजारमा श्रृंगारका सामग्रीको माग स्थिर र उच्च रहेको देखाउँछ । चाडपर्व र विशेष महिनाहरूमा हुने यस्तो खपतलाई स्वदेशी उत्पादनसँग जोड्न सके मात्र हाम्रो संस्कृति र अर्थतन्त्र दुवै बलियो हुने देखिन्छ । अहिलेलाई भने, नेपाली महिलाको साउने उत्साह विदेशी चुरा र पोतेकै भरमा टिकेको छ ।








प्रतिक्रिया