Logo

Breaking News 1

मन्त्रालयको संख्या घटेपछि कर्मचारीको दरबन्दी मिलान गरिँदै



काठमाडौं । सरकारले प्रशासनिक सुधारमार्फत मन्त्रालयको सङ्ख्या घटाएसँगै कर्मचारी दरबन्दी मिलान र सङ्गठन संरचना व्यवस्थापनको काम अघि बढाइएको स्पष्ट पारेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार, साविकका २२ वटा मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गरिएको र सोहीबमोजिम कर्मचारी व्यवस्थापनको काम अन्तिम चरणमा रहेको जनाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हेमराज अर्यालद्वारा जारी विज्ञप्तिमा नवगठित तथा गाभिएका मन्त्रालय र मातहतका निकायको सङ्गठन संरचना र कर्मचारी दरबन्दी निश्चित गर्न ‘सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण भइरहेको उल्लेख छ ।

त्यस्तो सर्वेक्षण सम्पन्न भएपछि हाल कायम रहेका कतिपय दरबन्दी घटनसक्ने र केही कर्मचारी दरबन्दीभन्दा बढी भई ‘फाजिल’मा पर्नसक्ने विज्ञप्तिमा जनाइएको छ ।

फाजिलमा पर्ने कर्मचारीको व्यवस्थापन र दरबन्दी मिलानलाई ध्यानमा राखेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृति बिना स्थायी पदपूर्तिका लागि लोक सेवा आयोगमा माग नगर्ने भनी सचिव बैठकबाट निर्णय भएको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ७ : ५६ बजे