काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले चुनदेवीस्थित आफ्नो सम्पर्क कार्यालयबाट राष्ट्रिय भेलाको प्रारम्भिक प्रक्रिया सुरु गरेको छ ।
सभापति गगन थापासँग असन्तुष्ट रहेका नेताहरुले यही साउन ६ गते विपी स्मृति दिवसका अवसरमा राष्ट्रिय भेलाको मिति तय गर्ने प्रक्रिया अगाडि बढाएका हुन् ।
यसै सिलसिलामा शनिबार तरुण दलको अगुवाइमा राष्ट्रिय भेला एवम विपी स्मृति दिवस मनाउनका लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । कांग्रेस नेताहरु गुरु वराल, जितजंग वस्नेत, कुन्दनराज काफ्लेलगायतको सहभागितामा अन्तरिक्रया गरिएको हो ।
सो क्रममा तरुण नेताहरुले संस्थापन पक्षले पार्टी विभाजनतर्फ लगेको र प्रतिपक्षको भूमिका कमजोर बनाएको प्रतिक्रिया दिए ।
नेपाली कांग्रेसका नेता रत्नबहादुर महर्जनले पार्टीभित्र सत्ता पक्ष र प्रतिपक्षजस्तै अवस्था सिर्जना भएको बताएका छन् । महर्जनले पार्टीका गतिविधि न्यून भएकाले साउन ६ गते हुने जमघटको तयारीस्वरूप छलफल गरिएको बताए ।
उनले भने, ‘पार्टी सत्ता पक्ष र प्रतिपक्षको अवस्थामा छ । पार्टीको गतिविधि एकदमै न्यून छ । मूलभूत रूपमा हुनुपर्ने गतिविधि देखिएको छैन । त्यसैले हामीले साउन ६ गतेको जमघटका लागि यो छलफल गरेका हौं, त्यसपछि राष्ट्रिय भेलाको तयारी सुरु हुनेछ ।’
महर्जनले पार्टीभित्र आन्तरिक कलह, प्रतिस्पर्धा र गुटबन्दी स्वाभाविक भए पनि त्यसले पार्टी फुट्ने अवस्था आउन नहुने धारणा राखे ।
यसैगरी तरुण दलका नेता दिल लामाले नेपाल तरुण दल कमजोर भयो भने राज्य कमजोर हुने बताए । उनले नेपाली कांग्रेस कमजोर बनेका कारण वर्तमान सत्ता पनि प्रभावहीन बन्दै गएको दाबी गरे ।
उनले भने, ‘तरुण दल कमजोर भयो भने राज्य कमजोर हुन्छ । अहिले नेपाली कांग्रेस एकदमै कमजोर भएका कारण सत्ताको मनोमानी बढेको छ । तर अब राज्यले जुन जुन कुरामा गडबडी गरिरहेको छ त्यसमा नेपाल तरुण दल खबरदारी गर्छ । तरुण दल सडकमा आइसकेपछि बालेन सरकारलाई खबरदारी गर्छौं ।’
साथै, राज्यले विभिन्न क्षेत्रमा गरिरहेका कमजोरी र अनियमितताप्रति तरुण दलले निरन्तर खबरदारी गर्ने बताए । साउन ६ गते विपी स्मृति दिवस भब्य रुपमा मनाउने पनि उनले जानकारी दिए ।








प्रतिक्रिया