Logo

Breaking News 1

सिरहाको चोहर्वामा पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु



सिरहा । सिरहाको गोलबजार नगरपालिका–७, चोहर्वास्थित पुरानो पशु हाटबजार परिसरमा पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको ज्यान गएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा अवास शेखका १२ वर्षीया छोरी सबनम खातुन, १० वर्षीया छोरी रुबिना खातुन र ७ वर्षीय छोरा साइफुल शेख रहेका छन् ।

रौतहट जिल्लाको जिगरवा स्थायी घर भएका अवास शेख विगत करिब ३० वर्षदेखि गोलबजार नगरपालिका–७ मा परिवारसहित बसोबास गर्दै आएका थिए । उनी घर भाडामा लिएर कवाडी संकलनको काम गरी जीविकोपार्जन गर्दै आएका थिए ।

प्रहरीका अनुसार आइतबार दिउँसो करिब ३ः३० बजे घरबाट खेल्न निस्किएका उनका पाँच सन्तानमध्ये तीनजना पशु हाटबजार परिसरमा रहेको पानी जमेको खाल्डोमा पुगेका थिए । नुहाउने क्रममा उनीहरू डुबेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उक्त खाल्डो गाई, गोरु, भैंसी लगायतका पशुहरूलाई पानी खुवाउने उद्देश्यले बनाइएको बताइएको छ । घटनापछि नेपाल न्युज बैंकका पत्रकार राहुल राय र स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा तीनै जनालाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको थियो । तर चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका छन् । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ८ : ४४ बजे