काठमाडौं । राष्ट्रियसभा बैठक आज बस्ने भएको छ । बैठक बिहीबार अपराह्न १२ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकायले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त देहायका विधेयकसँग सम्बन्धित समितिको प्रतिवेदनहरू सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।
सभापति रोकायले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, (२०८३), सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, (२०८३), ग. सहकारी (पहिलो संशोधन) विधेयक, (२०८३) र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, (२०८३) पेस गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “आर्थिक विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘आर्थिक विधेयक, २०८३ लाई पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
अर्थमन्त्री डा. वाग्लेले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ लाई पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।








प्रतिक्रिया