Logo

मुख्य समाचार

सुरक्षा निकायलाई पत्तै नदिई बारा र पर्साका नाकामा गृहमन्त्री गुरुङको ‘छड्के अनुगमन’



रौतहट । गृहमन्त्री सुदन गुरुङले बारा र पर्साको सीमावर्ती क्षेत्रमा सुरक्षा निकायलाई समेत पूर्वजानकारी नदिई ‘छड्के अनुगमन’ गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन सकेर शनिबार बिहान वीरगन्ज आइपुगेका गृहमन्त्री गुरुङले सुरक्षा टोली र आफ्नो औपचारिक संयन्त्रलाई बाहिरै राखेर सुटुक्क स्थलगत निरीक्षण गरेका हुन् ।

सामान्य पोसाकमा मास्क, टोपी र हाफ टिसर्ट लगाएर कसैले नचिन्नेगरी सीमा क्षेत्रमा पुगेका मन्त्री गुरुङले जानकी टोला, मटिअर्वा र अलौँलगायतका नाकाहरूको अवलोकन गरेका थिए ।

अनुगमनका क्रममा उनले नाका क्षेत्रका स्थानीय बासिन्दा तथा ज्येष्ठ नागरिकहरूसँग सीमापार भइरहेको तस्करी र सुरक्षा व्यवस्थाका विषयमा सोधपुछ तथा अन्तरक्रियासमेत गरेका छन् ।

शनिबार गृहमन्त्रीले गरेको छड्के अनुगमनको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा गृहमन्त्री गुरुङसँग कुरा गर्दै स्थानीयवासीले सशस्त्र प्रहरीकै अधिकारीको मिलेमतोमा तस्करी भइरहेको दाबी गरेका छन् ।

यद्यपि, गृहमन्त्रीले संवाद गरेको सो भिडियो ठ्याक्कै कुन नाकाको हो भन्ने विषय भने भिडियोमा प्रस्ट पारिएको छैन । गृहमन्त्रीको यस आकस्मिक तथा गोप्य भ्रमणबारे स्वयं उनको सचिवालयले कुनै जानकारी सार्वजनिक गरेको थिएन ।

यता सीमा क्षेत्रको सुरक्षा र प्रशासनिक जिम्मेवारी सम्हालेका बारा र पर्साका प्रहरी प्रशासन तथा स्थानीय प्रशासनसमेत मन्त्रीको यस भ्रमणबारे पूर्ण रूपमा अनभिज्ञ रहेका छन् ।

स्रोतका अनुसार चितवनको माडी हुँदै ठोरी प्रवेश गरेर पर्सा र बाराका नाकाहरूको वस्तुस्थिति प्रत्यक्ष रूपमा बुझेपछि गृहमन्त्री गुरुङ शनिबार नै काठमाडौँ फर्किसकेका छन् ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  ३ : ३५ बजे