काठमाडौं । भारतले जर्मनीको सहयोगमा नयाँ पुस्ताका पनडुब्बी निर्माण गर्ने तयारी गरेको छ । करिब आठ अर्ब अमेरिकी डलर बराबरको यस सम्झौतामा यही वर्ष हस्ताक्षर हुने अपेक्षा गरिएको जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले बताएका छन् ।
सम्झौताअन्तर्गत जर्मन कम्पनी थाइसेनक्रुप मरिन सिस्टम्सले डिजाइन गरेका ‘टाइप–२१४’ पनडुब्बी भारतमै निर्माण गरिनेछन् । यी डिजेल–इलेक्ट्रिक पनडुब्बीमा एयर–इन्डिपेन्डेन्ट प्रोपल्सन प्रविधि जडान गरिनेछ, जसले लामो समयसम्म पानीमुनि सञ्चालन गर्न सक्ने क्षमता प्रदान गर्छ ।
भारतले आफ्नो पुरानो पनडुब्बी बेडालाई आधुनिकीकरण गर्ने योजनाअन्तर्गत यो परियोजना अघि बढाएको हो । हाल भारतीय नौसेनाका धेरै पनडुब्बी पुरानो प्रविधिमा आधारित छन् ।
हिन्द–प्रशान्त क्षेत्रमा चीनको बढ्दो नौसैनिक उपस्थिति तथा पाकिस्तानसँगको सैन्य सहकार्यका कारण भारतले समुद्री सुरक्षा क्षमतालाई थप सुदृढ बनाउन खोजेको बताइएको छ ।
भारतको ११ हजार किलोमिटरभन्दा बढी तटरेखा रहेको छ भने देशको ९० प्रतिशतभन्दा बढी व्यापार परिमाणका आधारमा समुद्रीमार्गबाट हुने गर्छ ।
टाइप–२१४ पनडुब्बीमा प्रयोग हुने एयर–इन्डिपेन्डेन्ट प्रोपल्सन प्रणालीले हाइड्रोजन र अक्सिजनबाट विद्युत् उत्पादन गर्ने इन्धन कक्षमार्फत शक्ति उत्पादन गर्छ । यस प्रविधिले पनडुब्बीलाई हप्तौँसम्म पानीमुनि रहन सक्षम बनाउने जनाइएको छ ।
सम्झौतामा प्रविधि हस्तान्तरणको स्तरबारे भने अझै स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन । भारतले स्वदेशमै उत्पादन क्षमता विस्तार गर्न चाहेको छ भने जर्मनीले आफ्ना संवेदनशील प्रविधिको सुरक्षा सुनिश्चित गर्न खोजिरहेको बताइएको छ ।
डीडब्ल्यूका अनुसार यो सम्झौताले भारत–जर्मनी रक्षा सहकार्यलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया