काठमाडौं । साहित्यकार शोभा अधिकारीद्वारा लिखित पुस्तक ‘सफलताका २७ स्वर्णिम सूत्रहरु’ शनिबार काठमाडौंमा आयोजित एक विशेष समारोहबीच लोकार्पण गरिएको छ ।
कार्यक्रममा बोल्दै लेखिका शोभा अधिकारीले पुस्तकले पाठकलाई आत्मपहिचान, क्षमता विकास तथा सकारात्मक सोच निर्माणमा प्रेरित गर्ने विश्वास व्यक्त गरिन् । उनले पुस्तकलाई जीवनको साथी, सल्लाहकार तथा मार्गदर्शकका रूपमा चित्रण गर्दै यसले सफलताको बाटो पहिल्याउन सहयोग गर्ने बताइन् ।
‘यो पुस्तकले आफूलाई चिन्न, आफ्नो क्षमता पहिचान गर्न, आत्मविश्वास बढाउन, सही निर्णय गर्न, सकारात्मक सोच विकास गर्न र जीवनलाई सार्थक बनाउन प्रेरित गर्नेछ,’ उनले भनिन् । ‘यो पुस्तक साथी पनि हो, सल्लाहकार पनि हो र जीवनको मार्गप्रदर्शक पनि हो । यो आत्माको बीउ हो, जसले पाठकको जीवनमा सफलताको बिरुवा उम्राएर हुर्काउन मद्दत गर्नेछ ।’
उक्त पुस्तक लोकार्पण समारोहमा अभिनेता दयाहाङ राईले पनि पुस्तकप्रति आफ्नो रुचि व्यक्त गर्दै विभिन्न विधाका पुस्तक अध्ययन गर्न मन पर्ने बताए । उनले आफूले ज्ञान र अनुभवलाई सहज रूपमा दर्शकमाझ पुर्याउन अभिनयलाई माध्यम बनाएको उल्लेख गरे ।
‘मलाई पुस्तक पढ्न निकै रुचि लाग्छ । विभिन्न प्रकारका पुस्तकहरू पढ्ने गर्छु,’ उनले भने, ‘एक पाठकको रूपमा पुस्तक पढ्न त सक्छु, तर यस विषयमा विस्तृत रूपमा बोल्न भने आफूलाई त्यति सहज लाग्दैन । ’
कार्यक्रममा साहित्य, कला तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । समारोहमा जीवन विज्ञान अभियानका संस्थापक एल पी भानु शर्मा, डा.नवराज खतिवडालगायतले कृतिमाथि चर्चा गरेका थिए ।








प्रतिक्रिया