काठमाडौं । कम्बोडियामा अवैध रूपमा बसोबास गरिरहेका २११ जना नेपाली बैंककस्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन् । उद्धार गरी स्वदेश फर्काइदिन अनुरोध गर्दै उनीहरूले दूतावासमा विवरण दर्ता गराएका हुन् ।
थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले कम्बोडिया समेत हेर्ने जिम्मेवारी सम्हाल्दै आएको छ । दूतावासका अनुसार कम्बोडियामा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी संकलन गर्न जारी गरिएको अनलाइन फाराममार्फत हालसम्म २११ जना नेपाली सम्पर्कमा आएका छन् । तीमध्ये ९ जना महिला रहेका छन् ।
दूतावासले जारी गरेको सूचनाअनुसार सम्पर्कमा आएका नेपालीहरू सन् २०२२ मेदेखि २०२६ मेसम्म विभिन्न समयमा कम्बोडिया पुगेका हुन् ।
यसैबीच, कम्बोडियामा रहेका २७ जना नेपाली कारागारमा रहेको जानकारी पनि दूतावासले दिएको छ । उनीहरू विभिन्न मुद्दामा पक्राउ परेर जेलमा रहेको जनाइएको छ ।
दूतावासले कम्बोडियामा समस्यामा परेका नेपालीलाई आफ्नो सम्पर्कमा आउन तथा आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।








प्रतिक्रिया