Logo

Breaking News 1

चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले १० लाख कित्ता आइपीओ निष्कासन गर्ने, ४ प्रतिशत लाभांश पारित



काठमाडौं । चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको शनिबार सम्पन्न पहिलो वार्षिक साधारणसभाले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।
हाल कम्पनीको अधिकृत पूँजी ५० करोड रुपैयाँ रहेको छ । आइपीओ निष्कासनको निर्णयसँगै कम्पनीले सर्वसाधारणलाई आफ्नो लगानीको हिस्सा बनाउने प्रक्रिया अघि बढाएको छ ।

साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको ४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत अनुमोदन गरेको छ । यस्तै, सभाले आगामी कार्यकालका लागि ६ सदस्यीय नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको छ ।
निर्वाचनबाट राजन श्रेष्ठ, रामराजा आचार्य, प्रकाशमान श्रेष्ठ, धिरेन्द्र श्रेष्ठ, शंकर महर्जन र बीरेन्द्र श्रेष्ठ सञ्चालक पदमा निर्विरोध चयन भएका छन् । सभामा अध्यक्ष राजन श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र लेखा परीक्षकको प्रतिवेदन सर्वसम्मतिले पारित भएको थियो ।

एक होल्डिङ कम्पनीका रूपमा रहेको चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले विभिन्न सम्भावित क्षेत्रहरूमा आफ्नो लगानी विस्तार गरिरहेको छ । कम्पनीको लगानी रहेका संस्थाहरूमा इन्द्रेणी मस्रुम फार्म, द निलय होटल्स लिमिटेड, काउले भाइनियार्ड एग्रो, एभरेष्ट कलर र मेरो किसान लगायत रहेका छन् । आइपीओ निष्कासन पश्चात संकलित पूँजीलाई थप उत्पादनशील क्षेत्रमा परिचालन गर्ने कम्पनीको लक्ष्य रहेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  २ : २२ बजे