कर्णाली । कर्णाली उत्सवको ‘सडकदेखि सदनसम्म’को सत्रमा युवापुस्ताका अगुवाहरू वक्ताको रूपमा सहभागी भए ।
उनीहरूले जेनजी आन्दोलन र त्यसपछिका अभ्यासहरूमा समीक्षा गरे तर उनीहरूले युवापुस्ताको आवाज जनमतद्वारा अनुमोदन भए पनि ढुक्क हुने अवस्था नभएको बताए ।
जेनजी पुस्ताले चाहेको सुशासन, भ्रष्टाचारविरुद्धको लडाइँ र न्यायको खोजीको आन्दोलनले अझै पूर्णता नपाएको उनीहरूको गुनासो छ ।
जेनजी अगुवा मनिष खनालले सुशासनको मागसहित आफ्नो पुस्ताले आन्दोलन गरेको र त्यही बलमा जनताबाट चुनाव जितेर सदनमा पुगेको दाबी गरे ।
‘हामी सदनमा जानु मात्र आन्दोलनको सफलता भन्न त नमिल्ला’ उनले भने, ‘आफ्नो पुस्ताले राखेका मागहरू सम्बोधनको लागि सदनमा निरन्तर आवाज उठाउने छु ।’
जेनजी अगुवा रक्षा वमले आन्दोलन पछि बनेको कार्की आयोगको प्रतिवेदन पूर्ण नहुँदा आफ्ना मागहरू पुरा हुने र जेनजी आन्दोलनले न्याय पाउनेमा शंका भएको बताइन् ।
‘सरकारले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गरेको छैन’ उनले भनिन्, ‘हामी शान्तिपूर्ण आन्दोलनमा थियौँ । आन्दोलन कसरी हिंसात्मक बन्यो भन्ने सत्य बाहिर आउनुपर्छ, ।’
आयोगले भदौ २३ गतेको आन्दोलनलाई मात्र केन्द्रबिन्दुमा राखेर २४ गते भुलेको उनको आरोप छ । जेन्जी अगुवा धिरज जोशीले सडक र सरकारको भूमिकाबिच सन्तुलन आवश्यक रहेको बताए । ‘सरकारले केवल आन्दोलन होइन, समग्र देश, राष्ट्रिय सुरक्षा र सेवा प्रवाहलाई ध्यानमा राखेर काम गर्नु पर्नेमा उनको जोड छ ।
जेनजी आन्दोलनका घाइते प्रकाश लोहोराले जेन–जी आन्दोलनले अपेक्षित न्याय नपाएको गुनासो गरे । ‘हाम्रो आन्दोलन भ्रष्टाचारविरुद्ध थियो । मुलुकको बेथितिविरुद्ध थियो । तर अहिलेसम्म न्याय पाएको अवस्था छैन,’ उनले भने ।
जबसम्म आम नागरिकले सुशासन र परिवर्तनको अनुभूति गर्दैनन्, तबसम्म आन्दोलनका मुद्दाले पूर्णता नपाउने उनीहरूको तर्क छ ।









प्रतिक्रिया