काठमाडौं । ‘मोहीको विश्वास, स्वास्थ्यको विकास; घरघरमा फैलाऔं अभियानको प्रयास’ भन्ने मूल नाराका साथ दोस्रो राष्ट्रिय मोही दिवस २०८२ देशभर उत्साहपूर्वक मनाइएको छ ।
नेपाल डेरी एसोसिएसनको नेतृत्वमा आयोजित यस दिवसका अवसरमा सातै प्रदेशमा विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिएका थिए । हिजो सार्वजनिक गरिएको कार्ययोजनाअनुसार देशव्यापी रूपमा निःशुल्क मोही वितरण, जनचेतनामूलक कार्यक्रम तथा सामाजिक गतिविधिहरू सम्पन्न भएका हुन् ।
एसोसिएसनका अनुसार, दिवसका अवसरमा देशभर स्थानीय डेरी उद्योगी र सरोकारवालाको सहकार्यमा सर्वसाधारणलाई निःशुल्क मोही वितरण गरिएको थियो । काठमाडौं उपत्यकामा विशेष अभियान सञ्चालन गर्दै काठमाडौं र ललितपुरका प्रमुख चोक, अस्पताल तथा सार्वजनिक स्थलहरूमा करिब ५ हजार लिटर मोही वितरण गरिएको जनाइएको छ ।
सातदोबाटोस्थित ट्राफिक कार्यालयलगायतका क्षेत्रमा भएको वितरण कार्यक्रममा उपभोक्ताको उल्लेखनीय सहभागिता देखिएको थियो ।
त्यसैगरी, लुम्बिनी प्रदेशमा सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो। नेपाल स्वयंसेवी रक्तदाता समाज र नेपाल मगर संघ रुपन्देहीसँगको सहकार्यमा बुटवलस्थित ब्लड बैंकमा आयोजित कार्यक्रममा उल्लेख्य संख्यामा रक्तदान गरिएको आयोजकले जनाएको छ ।
नेपाल डेरी एसोसिएसनले मोहीलाई नेपाली मौलिक संस्कृति र स्वास्थ्यसँग जोडिएको पेय पदार्थका रूपमा प्रवद्र्धन गर्दै विदेशी तथा कृत्रिम पेय पदार्थको स्वस्थ विकल्पका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ ।
एसोसिएसनले मोहीको उपभोग बढाउँदा ग्रामीण किसानले दूधको उचित मूल्य पाउने र विदेशी पेय पदार्थको आयातमा खर्च हुने रकम बचत हुने उल्लेख गर्दै सरकारी तथा गैरसरकारी बैठक, शैक्षिक संस्था र पारिवारिक कार्यक्रममा स्वदेशी मोही प्रयोग गर्न आग्रह गरेको छ ।
दिवस सफल बनाउन सहयोग पुर्याउने नेपाल सरकार, सुरक्षा निकाय, सञ्चारकर्मी, उपभोक्ता तथा किसानहरूलाई एसोसिएसनले धन्यवाद व्यक्त गरेको छ ।









प्रतिक्रिया