काठमाडौं। विश्व रामसार सुचिमा सुचिकृत माईपोखरी अनि कोशी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर डाँडालगायत पर्यटकीय गन्तव्य सन्दकपुर गाउँपालिकामा तेस्रो रेडपाण्डा महोत्सव उपलब्धीमूलक बनेको छ । पर्यटकीय गन्तव्यले भरिएको गाउँपालिकाको पर्यटन पात्रो अनुसार चैत्र २० बाट २३ सम्म महोत्सव आयोेजना भएको हो ।
महोत्सवको थालनी गर्दा रामसार क्षेत्र माईपोखरीबाट–ढापपोखरी–जौबारी जोड्ने पदमार्गलाई चलायमान गर्नु मुख्य उद्देश्य हो । रेडपाण्डा महोत्सवको तेस्रो संस्करणसम्म आइपुग्दा सन्दकपुर गाउँपालिकाले आफ्ना उपलब्धि र उद्देश्य थप गरेको छ । पर्यटन विभागले निर्माण गरि अलपत्र छाडेको पदमार्ग चलाउन प्रथम पटक पदयात्रामा आधारित पर्यटन महोत्सव २०८० साल चैत्र २७ बाट ३० सम्म आयोजना गरिएको थियो ।
प्रथम रेडपाण्डा महोत्सवसँगै यो पदमार्गको नाम ‘रेडपाण्डा’ भएको छ । प्रथम महोत्सवमा नेपाल र भारतका पर्यटन प्रवद्र्धकसँगै पत्रकार र जनप्रनिनिधिले पदयात्रा गरेका थिए । गाउँपालिका, संघीय सरकार र प्रदेश सरकारले लगानी गरेको रेडपाण्डा प्रजनन् संरक्षण तथा उद्धार केन्द्र परिसरमा प्रथम रेडपाण्डा महोत्सवमा सहभागिले पदयात्रा गरेका थिए । प्रथम रेडपाण्डा महोत्सवको समापन पूर्वी मुस्ताङले परिचित पर्यटकीय गन्तव्य जौबारी पुगेर टुङ्गिएको थियो ।
जौबारी रेडपाण्डा पदमार्गले जोडिएको ऐतिहासिक बजार हो । जहाँ अहिले आन्तरिक बाह्य पर्यटकहरुको बाक्लो उपस्थिति हुन्छ । सन्दकपुर गाउँपालिकाको आयोजना, नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा भएको प्रथम रेडपाण्डा महोत्सवमा थुप्रै सहकार्य गर्ने संस्था भएपनि सानो बजेटको सिमितता थियो । पर्यटन बोर्डको तीन लाख र गाउँपालिकाको ६० हजार रुपैंयाँ बजेट मात्रै प्रथम रेडपाण्डा महोत्सवको सिलिङ हो । प्रथम रेडपाण्डा महोत्सवको पदयात्रामा ७७ वर्षिय पालिका अध्यक्ष तुलाराम गुरुङ्ग, ६२ वर्षिय चेतबहादुर सुवेदीलगायत ३५ जना बढीको सहभागिता थियो । पालिका अध्यक्षले दोस्रो रेडपाण्डा महोत्सवमा पनि पदयात्रा गरेका थिए । पदयात्रा प्रमुख प्रशासकिय अधिकृत यादव राउतको नेतृत्वमा पालिका भित्रका कर्मचारीले पदमार्गको प्रचारमा पदयात्रा गरेका थिए ।
प्रथमको उपलब्धि
चार दिनसम्म आयोजना भएको पदमार्गमा आधारित प्रथम रेडपाण्डा महोत्सवले गाउँपालिका भित्रका पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसारमा ‘ब्रेक थ्रु’ नै गरेको पूर्वी पहाडको पर्यटन प्रवद्र्धनमा सक्रिय केशवकुमार द्यौरालीले बताए । मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति र केचना कंचनजंघा पर्यटन विकास समितिका कार्यकारी निर्देशक भएका द्यौराली भन्छन्,‘पदयात्रामा आधारित पर्यटन महोत्सवमा पालिका भित्रका कर्मचारी, पर्यटन व्यवसायी, संचारकर्मी, भारतका पर्यटन व्यवसायीको सहभागिताले सन्दकपुरका पर्यटकीय क्षेत्रको प्रचार ठुलो योगदान पुगेको छ ।’
प्रचार सामग्री बनाएर प्रचारप्रसारका काम गाउँपालिकाले २०७५ सालबाट गर्दै आएपनि एकैपटक पदयात्रामा ४० जना बढीले सामाजिक संञ्जालमा यात्राको अनुभव पस्केका थिए । हरेक दिन सामाजिक सञ्जालमा पर्यटकीयस्थलको फोटो र भिडियो अपलोड हुँदा पदमार्गले जोडिएका पर्यटकीय गन्तव्यको एकसाथ प्रचारमा सहयोग पुगेको द्यौरालीले बताए । पदयात्रामा स्वयःकेशवकुमार द्यौरालीले टप्पुबाट गोरुवालेसम्म पदयात्रा गरेका थिए । प्रथम रेडपाण्डा महोत्सवको पदयात्रा सकिएपछि पदमार्गको नामाकरण भयो ।
जसको नाम ‘रेडपाण्डा’ जुर्यो । रेडपाण्डा लोपोन्मुख वन्यजन्तु हो । पदमार्गको जिरो पोइण्ट रामसार क्षेत्र माइपोखरीदेखि अन्तिम बिन्दु जौबारीसम्म नै रेडपाण्डा भेटिएको प्रमाणले गाउँपालिकालाई पदमार्गको नाम ‘रेडपाण्डा’ राख्न कुनै अध्ययन गर्नु परेन । गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्ग भन्छन्–‘२२ सय मिटरबाट ४८ सय मिटरसम्म बासस्थान रहने लोपोन्मुख वन्यजन्तु २१ सय २१ मिटरको उचाईमा अवस्थित माईपोखरीसम्म भेटिएकाले गाउँसभाबाट नै ‘रेडपाण्डा’ पदमार्ग पारित ग¥यौं । पदमार्गको नाम ‘रेडपाण्डा’ पछि नेपाल र भारतका संचारमाध्यममा चर्चा भएको थियो । पदमार्गको नामाकरणपछि गाउँपालिका भ्रमणको प्याकेजबारे पनि अध्ययन गरेको थियो ।
५० किलोमिटर लामो पदमार्गको यात्रा चार दिनमा यात्रा सकिने र पदमार्गमा पर्ने पर्यटकीय गन्तव्यबाट पर्यटकले दृश्यावलोकन गर्ने सम्पूर्ण विषयबस्तु अध्ययन प्रतिवेदनमा उल्लेख छ । अध्ययनमा १५ वटा पर्यटकीय गन्तव्य र भ्यू पोइण्ट रहेको सिफारिस गरिएको छ । अध्ययन सहभागि टे«क ८५८६ का मनोज बस्नेत भन्छन्,‘ भारतसँग सीमा जोडिएको हाम्रो मेची कोरिडोरमा दर्जनौं हिमश्रृङ्खला, लोपोन्मुख वन्यजन्तु, सयौँ चराहरु, जैविक विविधता, सिमसार, पोखरी, रामसार क्षेत्र, दर्जन बढी प्रजातिका गुराँसका फुलहरुसँगै नेपाल र भारतका मनोरम दृश्यमा रमाउन सकिने एक मात्रै संभावना भएको क्षेत्रले रेडपाण्डा पदमार्गको यात्रामा पाइन्छ,’ उनी भन्छन्,‘अहिले हामी रेडपाण्डा पदमार्गका पर्यटकीय गन्तव्य केन्द्रित भएर यात्रा प्याकेज समेत विक्री गरिरहेका छौँ ।’ त्यससँगै गाउँपालिकाले सन्दकपुर गाउँपालिकाले पर्यटन पात्रो समेत निर्माण गरेको थियो ।
पर्यटन पात्रो निर्माणका लागि केचना कंचनजंघा पर्यटन विकास समितिका कार्यकारी निर्देशक र बोर्ड सदस्य सुजन तिम्सिनाले प्राविधिक सहयोग गरेका थिए । जस अनुसार दोस्रो रेडपाण्डा महोत्सव २०८१ चैत्र २० बाट २३ गतेसम्म आयोजना भएको थियो । दोस्रो रेडपाण्डा महोत्सवमा पर्यटन पात्रो र पदमार्गको उद्घाटन भएको थियो । महोत्सवको उद्घाटन इलाम क्षेत्र नं १ तत्कालिन माननीय महेश बस्नेत, कोशी प्रदेशसभा सदस्य तथा पूर्व पर्यटन वन तथा वातावरण मन्त्री खिनु लङ्वा लिम्बु, प्रदेशसभा सदस्य खगेस्वरी पौडेल (बन्दना) अधिकारी, इलाम नगरपालिका प्रमुख केदार थापा लगायतले गरे ।
दोस्रोमा सहकार्य
प्रथमबाट दोस्रो रेडपाण्डा महोत्सवमा आइपुग्दा सहकार्य गर्ने संस्था बढे । महोत्सव आयोजक सन्दकपुर गाउँपालिलाई पर्यटन प्रवद्र्धनमा लाग्न सहयोग पुग्यो । दोस्रो रेडपाण्डा महोत्सवमा ०६३ सालबाट इलाममा लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षणको नेतृत्वकर्ता रेडपाण्डा नेटवर्क, दिपज्योती युवा क्लब, उच्च पहाडी जडिबुटी तथा संरक्षण संस्था, पर्यटन कार्यालय काँकरभिट्टालगायत थुप्रै संस्थाले सहकार्य गरेका थिए । आर्थिक हिसाबले उनीहरुको सहयोगको रकम सानो भएपनि पर्यटन प्रवद्र्धनमा गाउँपालिकालाई हौसला पुगेको सन्दकपुर–२ का अध्यक्ष सनम राईले बताए ।
उनी भन्छन्,‘दोस्रो महोत्सव पनि पदयात्रामा आधारित भएकाले नेपाल र भारतका विभिन्न पदयात्री,ट्राभल्स एण्ड टुर्स संचालकहरुको राम्रो सहभागिता रहेको थियो ।’ नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान, भारतको पश्चिम बंगालमा वातावरण संरक्षण र पर्यटन प्रवद्र्धनमा क्रियाशील संस्था एक्टबाट १५ जनाको टोली सहभागि भएको थियो । दोस्रो रेडपाण्डा महोत्सवको पदयात्रामा नेपाल र भारतका गरि ३५ जना ट्राभल्स एण्ड टुर्सका संचालक, पर्यटन प्रवद्र्धन, संचारकर्मीको सहभागिता थियो । सबै सहभागिले ४ दिन नै पैदल पदयात्रा गरेको सहभागि पत्रकार प्रकाश नेपालले बताए ।
पदयात्रामा सहभागि सबैले लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको दृश्यमा रमाउन पाएका थिए । रेडपाण्डाको दृश्य देखाउन प्रकृति पथप्रदर्शक दावा छ्योतेन शेर्पाले पदयात्रीलाई सहयोग गरेका थिए । दोस्रो महोत्सवले रेडपाण्डाका माध्यमबाट पर्यटकीयस्थलको प्रचारप्रसारसँगै स्थानीयबासीलाई आयआर्जनमा जोड्दै लगेको प्रकृति पथप्रदर्शक दावा छ्योतेन शेर्पाको अनुभव छ । उनी भन्छन्,‘माइपोखरीबाट जंगलै जंगल हिडेर सन्दकपुरको उच्च भू–भागसँगै नेपाल भारत सीमा क्षेत्र रेडपाण्डा पर्यटन महोत्सवमा ७७ वर्षिय गाउँपालिका अध्यक्षसहित देश विदेशका पदयात्री हिड्दा नेपाली प्रशासनको पहुँच पनि बढेको छ ।’
पर्यटकको आकर्षण, सचेत समूदाय
रेडपाण्डा नामबाट अभियानकै रुपमा दुई वर्ष भएका पदयात्राले अलपत्र पदमार्गमा पर्यटक हिड्न मात्रै थालेका छैनन्, आयस्रोत माध्यम रेडपाण्डा संरक्षणबाट हुने रैछ भन्ने समुदायमा चेतनाको अभिवृद्धि भएको शेर्पाले बताए । सन्दकपुर वडा नं ५ निवासी शेर्पाले पनि रेडपाण्डा अध्ययन र दृश्यावलोकन गर्न पुग्ने पर्यटकहरुलाई सेवा पु¥याएर आयआर्जन गरिरहेका छन् ।
उनले भने,‘पहिलो वर्ष रेडपाण्डाको चर्चा शुरु भयो समूदायले महत्व बुझ्न थाले दास्रो महोत्सव सकिएपछि त रेडपाण्डा हेर्न आउने पर्यटनको संख्या बढेसँगै संरक्षण गरेर आयआर्जन गर्न सकिन्छ भन्नेमा समुदाय सचेत छन् ।’
रेडपाण्डा हेर्नकै लागी आउने पर्यटकहरुको संख्या बढेको मात्रै छैन पर्यटक भित्र्याउनका लागि सेवा दिने संस्थापनि थपिएका छन् । जुन सन्दकपुर वडा नं ५ मा छन् । वन्यजन्तु पर्यटन व्यवसायमा इच्छुक व्यवसायीको आकर्षण सन्दकपुर गाउँपालिका भित्र बढेको छ । एक वर्षअघिसम्म सन्दकपुर– ५ को कैयाकट्टामा ८ वर्षबाट रेडपाण्डासँगै प्रकृति र वन्यजन्तु पर्यटन प्रवद्र्धन गर्दै आएको हाब्रेनेष्ट मात्रै थियो । तर अहिले जौबारीमा पनि अर्को कम्पनीले प्रकृति र वन्यजन्तु पर्यटनको व्यवसाय थालेको छ ।
जहाँ आउने ९० प्रतिशत पर्यटकहरु भारत र तेस्रो मुलकका मात्रै छन् । पर्यटकहरुले सन्दकपुर भित्रका विभिन्न सामुदायीक वनमा रेडपाण्डाको दृश्यावलोकन गर्न प्रकृति प्रथप्रदर्शक लिएर घुम्छन् र रेडपाण्डासँगै अन्य वन्यजन्तु, चाराहरु, प्राकृतिक सुन्दरतासँगै दर्जनौँ हिमश्रङ्खलाको दृश्यमा रमाएर फर्किन्छन् ।
पर्यटकको मोडियो बाटो
सन्दकपुर गाउँपालिका भारतसँग सीमा जोडिएको गाउँपालिका हो । सन्दकपुर गाउँपालिका भित्रका ‘सन्दकपुर डाँडा’ इलाम जिल्ला र भारतको पश्चिम बंगाल राज्यको शीर हो । सन्दकपुर डाँडासँगै नेपाल भारत सीमामा दर्जन बढी पर्यटकीय गन्तव्य छन् । सीमा क्षेत्रका पर्यटकीय गन्तव्यमा अभियान बनाएर नेपाली प्रशासनको टोलीले पदयात्रा गरेपछि भारत बाहेक यहाँ पुग्ने पर्यटकहरुले नेपाली सडक प्रयोग गर्न थालेका छन् ।
सीमावर्ती क्षेत्रमा नेपालपट्टि कच्चि सडक मात्रै छ । कच्ची सडक भएकाले दुई वर्ष अघिसम्म तेस्रो मुलकका पर्यटक भारतीय सडक भएर आउने गरेका थिए । सन्दकपुर २ का अध्यक्ष सनम राई भन्छन्,‘उनीहरुको भिषा भारतको मात्रै भएपनि बास बस्ने र रेडपाण्डा हेर्ने ठाउँ नेपाली सामुदायिक वन थिए । तर अहिले यहाँ आउने तेस्रो मुलकका पर्यटकहरुले नेपाली भिषा लगाएर आउन थालेकाले सन्दकपुर आउने पर्यटकहरुबाट देशको आर्थिक बिकासमा योगदान पुगेको छ । भारतीय पर्यटकहरु पनि झापाको काँकरभिट्टा र इलामको पशुपतिनगर नाका भएर रेडपाण्डा हेर्नका लागी सन्दकपुर पुग्नेका गरेका छन् ।
चार वर्षदेखि रेडपाण्डा देखाउन भारतबाट पर्यटकहरुको टोली लिएर आउने साइवा राणा भन्छिन्,‘हाम्रो एजेन्सी र अन्य एजेन्सीले ल्याउने पर्यटकहरुलाई रेडपाण्डा देखाउने जंगल नेपालको हो । नेपालपट्टिको होमस्टे र होटलमा बसि नेपालकै जंगलमा रेडपाण्डा देखिएपनि सिंहलिला क्षेत्रमा भेटिएको प्रचार हुने गरेको थियो’ उनी भन्छिन्–‘जुन नियमित हुँदै आएको रेडपाण्डा महोत्सवले चिरेको छ ।’ दुई वर्ष अघिसम्म तेस्रो मुलकका पर्यटकहरुले भारतीय बाटो रोजेपनि अहिले रेडपाण्डा हेर्ने र देखिने क्षेत्र नेपाल हो भन्ने कुरा महोत्सवका माध्यमबाट पनि प्रचार भएकाले सन्दकपुर गाउँपालिकासँगै राष्ट्रलाई नै योगदान पुगेको गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेलीले बताए ।
रेडपाण्डा पर्यटनको ब्राण्ड
रेडपाण्डा महोत्सव तेस्रो संस्करण आयोजना भएसँगै इलामको पर्यटनमा नयाँ ब्राण्ड थपिएको छ । इलामको अन्तु ‘सूर्योदय पर्यटन’ र कन्याम ‘चिया पर्यटन’ ले ब्राण्डको विकास भएको छ । सूर्योदय नगरपालिका ४ र ५ मा अवस्थित अन्तु क्षेत्रमा विक्रम सम्बत् २०६० सालबाट २०७० सालसम्म अन्तु महोत्सव आयोजना भएसँगै सुर्योदय पर्यटनले ख्याती कमाएको हो ।
सूर्योदय नगरपालिका ६ र ७ मा अवस्थित कन्याम क्षेत्र चिया पर्यटनले परिचित छ । कन्याम क्षेत्रमा पनि विक्रम सम्बत् २०६० देखि २०७० को बिचमा महोत्सव आयोजना भएका थिए । चिया पर्यटनको विकास गर्ने उदेश्य लिएको महोत्सवबाट प्रचारप्रसार हुँदा कन्याममा नेपाल र भारतका पर्यटकहरुको गन्तव्यस्थल बनेको हो । चिया र सुर्योदय पर्यटनसँगै इलाममा अब ‘रेडपाण्डा पर्यटन’ को विकास हुने सरोकारवालाले औल्याएका छन् । भारतबाट तेस्रो रेडपाण्डा महोत्सवमा सहभागी पर्यटन व्यवसायी विश्वजित साह भन्छन्,‘रेडपाण्डा महोत्सवले पूर्वी नेपालको पर्यटनमा नयाँ ब्राण्ड थप्ने निश्चित छ–त्यो हो ‘रेडपाण्डा पर्यटन’ ।
मानिसहरु सिंहलिला क्षेत्रसँगै जोडिएको सन्दकपुरमा रेडपाण्डा हेर्न र प्राकृतिक सुन्दरतामा रमाउनका लागि आउने क्रम बढ्दो छ उनी भन्छन्,‘रेडपाण्डालाई केन्द्रबिन्दु बनाएर गरिएको प्रचारले यहाँका पर्यटकीय गन्तव्यहरुमा पर्यटकहरु पुग्न थालेका छन् ।’ भारतीय सडक भएर धेरै पर्यटन आउने गरेपनि अहिले काँकरभिट्टाबाट चारआली हुँदै कन्याम अन्तु घुमेर सन्दकपुरमा रेडपाण्डासँगै हिमश्रङ्खलामा पनि रमाउन सकिने अवस्था महोत्सवले विकास गर्न सक्छ ।’
१० वर्ष जति महोत्सव आयोजना निरन्तर भए त्यो एउटा ब्राण्ड बन्छ, जसको नाम ‘रेडपाण्डा पर्यटन’ हुन्छ । पूर्वी पहाडको पर्यटन प्रवद्र्धनमा रेडपाण्डा महोत्सवले योगदान दिएको पर्यटनकर्मी केशव कुमार द्यौरालीले बताए । अन्तु, कन्याममा छुट्टै ब्राण्डका साथ पर्यटन आकर्षित गर्न सफल भएसँगै सन्दकपुर अब रेडपाण्डा पर्यटनले विश्वभर चिनिने द्यौरालीले बताए ।
प्रथम रेडपाण्डा महोत्सवपछि नै सन्दकपुरको पर्यटनले उपलब्धि हासिल गर्न थालेको छ । उनी भन्छन्, ‘रेडपाण्डा पदमार्ग पर्यटकको रोजाईमा पर्न थालेसँगै स्थानीयबासीको आयआर्जनको माध्यम पर्यटन बनेको छ । जसको प्रत्यक्ष अनुभव गोरुवाले क्षेत्रमा देख्न सक्छौँ ।’ केचनाबाट कंचनजंघासम्म कार्यक्षेत्र रहेको कोशी प्रदेश सरकार मातहतको पर्यटन कार्यालय काँकरभिट्टा झापाका अधिकृत निरोज कट्टेलका अनुसार नेपालीसँगै भारतीय बजारमा सन्दकपुर‘रेडपाण्डा पर्यटन’ चिनिन थालेको छ । उनी भन्छन्
‘रेडपाण्डा संरक्षणको कामसँगै पर्यटकलाई देखाएर समुदायले आयआर्जन गर्न थालेकाले र विश्वभरका पर्यटक पनि भित्रिन थालेकाले पूर्वी पहाडमा पर्यटनको नयाँ ब्राण्ड रेडपाण्डा बनेको हो ।’
सन्दकपुर ४ को दोबाटे क्षेत्रमा भारतीय पर्यटकहरुसँग भेटिएकी साइवा राणा भन्छिन्–‘विश्वमा सहज र सजिलै रेडपाण्डा हेर्न सकिने क्षेत्र नेपालको सन्दकपुर नै हो ।’ राणाले पर्यटकको टोली पाँच दिनसम्म सन्दकपुर गाउँपालिका भित्रका पर्यटकीय गन्तव्यसँगै रेडपाण्डा देखाएर घर फर्काउने गरेकी छन् ।’
नेपाल पर्यटन बोर्डका बरिष्ठ बजार नियन्त्रक उदय भट्टराई रेडपाण्डा पूर्वी नेपालको मात्रै नभएर नेपालको पर्यटन बजार एक ब्राण्ड भएको बताए । उनले भारतसँगै तेस्रो मुलुकका पर्यटकहरु यहाँ अहिले पनि देखिन थालेकाले भविष्यमा विश्व पर्यटन बजारमा ‘रेडपाण्डा पर्यटन’स्थापित हुने बताए ।
तेस्रो सस्करणमा बलिया प्रवद्र्धक
दुई पटक पदयात्रामा आधारित महोत्सव हुँदै आएको रेडपाण्डा महोत्सवको तेस्रो संस्करण बजार प्रवद्र्धनमा केन्द्रित थियो । दुई पटक पदयात्रा र प्रचारप्रसारमा केन्द्रित रहेको महोत्सवको तेस्रो संस्करणमा संरक्षणकर्मी, पर्यटन बजारका प्रवद्र्धकको उपस्थिति बाक्लो थियो । रेडपाण्डा पर्यटनको प्रवद्र्धनमा नेपाल पर्यटन बोर्ड, कोशी प्रदेश पर्यटन वन तथा वातावरण मन्त्रालय, केचना कंचनजंघा पर्यटन विकास समिति, पर्यटन कार्यालय काँकरभिट्टा, रेडपाण्डा नेटवर्क, दिपज्योती युवा क्लब, पर्यटन मञ्च झापा नेपाल, भारतीय संस्था एक्ट सिलिगुडी फोटोग्राफी एशोसिएसन लगायत राष्ट्रिय र अन्तराष्ट्रिय संस्था जुटेका छन् ।
रेडपाण्डा पर्यटनको प्रवद्र्धनमा स्थानीय संघसंस्थाको पनि सहभागिता रहेको छ । उच्च पहाडी जडिबुटी उत्पादक तथा संरक्षण संस्था, सामुदायिक वन उपभोक्ता समिति, होमस्टे महासंघ नेपाल, नमस्ते कंचनंजंघा पर्या–पर्यटन संस्था, सन्दकपुर हिल्स ट्राभल्स टुर्स एण्ड रिर्सच सेन्टर लगायतका संस्था रेडपाण्डा पर्यटन पर्यटन प्रवद्र्धनमा जुटेका छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहभागिताले रेडपाण्डा महोत्सवको महत्व पनि बढ्दै गएको छ । समुदायमा पनि रेडपाण्डा पर्यटन बारे सचेतना बढ्दै जाँदा संरक्षणसँगै पर्यटन प्रवद्र्धनका काम हुँदै आएको सन्दकपुर वडा नं २ का अध्यक्ष सनम राईले बताए ।
पदमार्ग चलायमान, समूदाय जोडिए पर्यटनमा
रेडपाण्डा महोत्सव आयोजना गर्दैगर्दा सन्दकपुर गाउँपालिकाले अलपत्र परेको माईपोखरी–ढापपोखरी–जौबारी जोड्ने पदमार्ग संरक्षण गर्दै चलायमान गर्नु थियो । संघीय सरकारको पर्यटन विभागले निर्माण गरि हस्तान्तरण समेत नगरेको पदमार्ग गाउँपालिका आफैँले संरक्षणमा अग्रसरता लिएको थियो । प्रथम रेडपाण्डा महोत्सवमा सहभागि नै सोही पदमार्गमा पदयात्रा गर्ने योजना थियो ।
पदयात्रामा आधारित महोत्सवले समुदायमा पनि अन्यौलता थियो । दोस्रो महोत्सव आयोजना भएपछि समुदायमा देखिएका अनेक जिज्ञासा मेटिदैँ गएको गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेलीले बताए । उनी भन्छन्,‘प्रथम महोत्सव गरि हामी पदयात्रा गर्दा सरकारी पैसा सक्न हिडेका भन्ने कुरा सुनेका थियौँ तर दोस्रो पछि समुदायले हाम्रो लागि नै रहेछ भन्ने भएको छ ।’ जसको प्रत्यक्ष उपलब्धि इलाम र पाँचथरको सीमा क्षेत्र गोरुवालेमा देखिन्छ । लुङ्गेली भन्छन्,‘प्रथम महोत्सवमा हिड्न पदमार्ग क्षेत्रका घरहरुमा बास बस्ने व्यवस्था थिएन,अहिले होमस्टे दर्ता गरि समुदायले पर्यटकलाई सेवा गर्दै आम्दानी समेत बढाएका छन् ।’
रेडपाण्डा नेटवर्क इलाम परियोजना संयोजक राम रिमाल भन्छन्, ‘रेडपाण्डा संरक्षणका लागि कार्यक्रम संचालन गरिएपछि समुदाय आफैँ पर्यटनबाट आयआर्जनमा जोडिएका थिए, अहिले झनै बढेको छ ।’ रेडपाण्डा महोत्सवमा नेपाल र भारतका पर्यटनकर्मी, व्यवसायी, संचारकर्मीको उपस्थिति भएपछि ‘रेडपाण्डा पदमार्ग’ चलायमान भएको देखिन्छ प्रमुख प्रशासकिय अधिकृत दिलकुमार लिम्बुले भने–‘पदमार्गको सन्दकपुर छिन्टापु खण्ड र जौबारी सन्दकपुर खण्डमा पदयात्रा गर्ने पर्यटकहरुको संख्या बढेको हो ।’
सन्दकपुर छिन्टापु खण्ड प्रथम रेडपाण्डा महोत्सवपछि २ हजार ५ सय भारतीय पदयात्रीले यात्रा गरेका पाइन्छ वडा नं २ का अध्यक्ष समन राई भन्छन्,‘दोस्रो महोत्सवपछि ७ हजार बढीले पदयात्रा गरेसँगै भारतीय पर्यटकहरुको बासबस्ने क्षेत्र गोरुवाले गाउँले मुहार फेरेको छ ।’ गोरुवाले गाउँका सबै घरमा अहिले होमस्टेको रुपमा विकास भएका छन् ।
सीमावर्ती क्षेत्र भएकाले पदयात्रा गर्ने क्षेत्र नेपाल हो की होइन भन्ने अन्यौल भएपनि महोत्सवको आयोजनापछि नेपाली भू–भाग र भारतीय भु–भाग बारे प्रष्टता आएको र समुदायमा पनि पर्यटन व्यवसायबारे सचेतना भई आयआर्जनमा जोडिएको पर्यटकर्मी केशवकुमार द्यौरालीले बताए ।
उनी भन्छन्,‘प्रथम रेडपाण्डा आयोजना गर्दा कतिपय गाउँमा पर्यटन व्यवसायबारे कुनै चासो थिएन तर तस्रो महोत्सवसम्म आइपुग्दा ती गाउँ पर्यटकलाई सेवा दिएर आम्दानी लिने भइसकेका छन् ।’ महोत्सवपछि सीमा क्षेत्रमा पर्यटन व्यवसायी पनि उत्साहित भएका छन् । कालपोखरीका पर्यटन व्यवसायी मिङ्युर शेर्पा भन्छन्–‘रेडपाण्डा पर्यटन महोत्सवले हामीलाई पनि स्थानीय तहसँगको समन्वय बलियो बनाएको छ ।’
सन्दकपुरको लक्ष्य ः वनजंगल पर्यटनको नेतृत्व
पूर्वी नेपालमा पछिल्ला दिनमा वनजंगलमा आधारित पर्यटन खस्कदो छ । चराहरुको राजधानी मानिने कोशीटप्पु वन्यजन्तु आरक्षण क्षेत्र पछि गुल्जार हुन सकेको छैन । तर सन्दकपुर गाउँपालिकाले वनजंगल पर्यटनको नेतृत्वदायी भुमिका निर्वाहा गर्ने लक्ष्य लिएको छ । गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्ग भन्छन्,‘इलामको माईभ्याली क्षेत्र चराहरुको खोज अनुसन्धानका लागि उत्कृष्ट क्षेत्र मानिन्छ र यहाँ लोपोन्मुख रेडपाण्डा सहित धेरै प्रजाती पाइने भएकाले वनजंगल पर्यटनको प्रवद्र्धन गर्ने लक्ष्य लिएका छौँ ।’
चितवनमा फस्टाएको वनजंगल पर्यटन कोशी प्रदेशमा पनि संभावना अधिक छ,अध्यक्ष गुरुङ्ग भन्छन्,‘सुनसरीको कोशीटप्पुमा चराको अध्ययन र हेर्न आउने पर्यटकहरुलाई सन्दकपुरसम्म ल्याउनका लागि रेडपाण्डा पर्यटनको प्रवद्र्धनमा हामी जुटेका हौँ ।’ सन्दकपुर रेडपाण्डा र चरा अध्ययनसँगै दृश्यावलोकन गर्ने उत्कृष्ट क्षेत्र भएकाले वनजंगल पर्यटन फस्टाउने रेडपाण्डा पर्यटनको प्याकेज बिक्रि गर्दै आएकी साइवा राणाले बताइन् ।
उनी भन्छन्,‘चरा र रेडपाण्डा अध्ययन गर्ने क्षेत्र सन्दकपुरका सामुदायीक वन हुन्, त्यसैले यहाँको वनजंगल पर्यटनमा हरेक वर्ष वृद्धि हुँदै आएको छ ।’ चरा र वन्यजन्तुको खोज अनुसन्धान गर्दै आएका कोशीटप्पु क्षेत्रका अनुसन्धानकर्ता अनिस तिमसिनाका अनुसरा सन्दकपुर रेडपाण्डा लगायतका वन्यजन्तुसँगै चराका लागि उत्तिकै उत्कृष्ट दृश्यावलोकन गर्ने क्षेत्र हो । उनी भन्छन्,‘कोशी प्रदेशमा वनजंगल पर्यटन प्रवद्र्धनमा सन्दकपुरको योगदान शुरु भएको छ ।’ हामीले कोशीटप्पु र सन्दकपुरलाई जोडेर वनजंगल पर्यटनको प्याकेज बिक्रि गर्न सक्छौँ र सफल पनि हुन्छ –उनले भने ।
लेखक केचना कंचनजंघा पर्यटन विकास समितिका निर्वतमान संचालक समिति सदस्य हुन् ।











प्रतिक्रिया