हेटौँडा । मकवानपुरको शैक्षिक इतिहासमा एक समय उज्यालो अक्षरले लेखिएको नाम हो हेटेक्स इंग्लिश बोर्डिङ स्कूल । हेटौँडा कपडा उद्योगको पहलमा स्थापना गरिएको यो विद्यालय केवल शिक्षण संस्था मात्र नभई अनुशासन, गुणस्तर र आशाको प्रतीकका रूपमा चिनिन्थ्यो । तर उद्योग बन्द भएसँगै विद्यालय पनि इतिहासमा सीमित हुन पुगेको छ ।
वि.सं. २०३०–२०४० को दशकतिर स्थापना भएको यस विद्यालयले उद्योगमा कार्यरत करिब एक हजारभन्दा बढी कर्मचारीका छोराछोरीलाई लक्षित गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको थियो । अंग्रेजी माध्यममा सञ्चालन हुने विद्यालयमा सयौँ विद्यार्थी अध्ययनरत थिए भने कपी, किताब लगायत शैक्षिक सामग्री उद्योगकै व्यवस्थापनबाट उपलब्ध गराइन्थ्यो ।
विद्यालयका संस्थापक प्रधानाध्यापक लक्ष्मी भक्त घिसिङ ती दिनहरू सम्झँदै भन्छन । ‘सुरुमा पाँच जना शिक्षकले विद्यालय सुरु गरेका थियौँ । स्रोत सीमित भए पनि प्रतिबद्धता बलियो थियो, जसले विद्यालयलाई जिल्लाकै नमूना बनायो ।’ उनका अनुसार टाढाटाढाका गाउँबाट समेत विद्यार्थीहरू यहाँ अध्ययनका लागि आउने गर्थे ।
उद्योग परिसरभित्रै सञ्चालन हुने भएकाले सुरक्षित वातावरण, दक्ष शिक्षक र व्यवस्थित पठनपाठनले विद्यालयलाई छोटो समयमै उत्कृष्ट बनाएको थियो । हेटेक्स केवल पढाइको केन्द्र नभई अनुशासन, नैतिकता र जीवनोपयोगी शिक्षाको पाठशाला समेत थियो ।
तर, समयसँगै हेटौँडा कपडा उद्योग आर्थिक संकट, व्यवस्थापन कमजोरी र राजनीतिक हस्तक्षेपका कारण बन्द हुँदै गयो । उद्योग बन्द भएसँगै विद्यालयको आर्थिक आधार कमजोर बन्यो । शिक्षक कर्मचारी विस्थापित भए, विद्यार्थी संख्या घट्दै गयो र पुनर्जीवनका लागि कुनै ठोस पहल नहुँदा अन्ततः विद्यालय बन्द हुन पुग्यो ।
प्रधानाध्यापक घिसिङका अनुसार, ‘उद्योग बन्द भएपछि विद्यालय पनि टिक्न सकेन । यसको असर केवल एउटा संस्थामा मात्र होइन, समग्र शिक्षामा पर्यो ।’ उनका अनुसार हेटेक्समा अध्ययन गरेका धेरै विद्यार्थी आज विभिन्न क्षेत्रमा सफल भए पनि उनीहरूको आधार यही विद्यालय थियो ।
पूर्व विद्यार्थी विनोद ढकाल ले उद्योग र विद्यालय पुनः सञ्चालनमा ल्याउनुपर्ने माग गरेका छन् । ‘उद्योग र शिक्षा सँगै चले मात्रै राष्ट्रको भविष्य बलियो हुन्छ,’ उनले भने । आज हेटेक्स इंग्लिश बोर्डिङ स्कूल स्मृतिमा मात्र बाँचेको छ ।
स्थानीयवासीका अनुसार यो विद्यालय केवल संस्था होइन, एउटा आशा थियो । जुन आज हराएको छ । हेटेक्सको बन्द हुनु केवल एउटा विद्यालयको अन्त्य होइन, यो राष्ट्रको शैक्षिक सम्भावनामाथि परेको गहिरो चोटका रूपमा हेरिएको छ ।









प्रतिक्रिया