Logo

समाचार

हेटौँडा सिमेन्ट उद्योगले पुर्नजीवन पाउन लागेको हो ?



मकवानपुर । हेटौँडा सिमेन्ट उद्योग परिसरमा झाडी सरसफाई अभियान सञ्चालन गरिएको छ ।
उद्योग क्षेत्रलाई स्वच्छ, व्यवस्थित तथा सुरक्षित बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त अभियानमा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीसहित विभिन्न निकायका प्रतिनिधि तथा अभियानकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो । 
अभियान अन्तर्गत उद्योग परिसरभित्र फैलिएको झाडी, घाँस तथा अव्यवस्थित रूपमा बढेका वनस्पतिहरू हटाइएका थिए । सरसफाइ कार्यले उद्योग क्षेत्रको सौन्दर्य अभिवृद्धि हुनुका साथै आगलागी तथा अन्य सम्भावित जोखिम न्यूनीकरणमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले हेटौँडा सिमेन्ट उद्योगलाई पुनःसशक्त र प्रभावकारी रूपमा सञ्चालनमा ल्याउने दिशामा सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।
उनले चाँडै नै नेपाल सरकारको संयुक्त स्वामित्वमा रहेको यस उद्योगलाई उत्कृष्ट उत्पादन गर्ने उद्योगका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको बताए ।
उनले उद्योग सञ्चालनलाई दिगो, पारदर्शी तथा प्रतिस्पर्धी बनाउन आवश्यक सुधारका कामहरू अगाडि बढाइने समेत स्पष्ट पारे । साथै, उद्योग परिसरको नियमित सरसफाइ र व्यवस्थापनमा सबै सरोकारवाला निकायको सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो ।
स्थानीयवासी तथा सरोकारवालाहरूले समेत सरसफाइ अभियानले उद्योगप्रति सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गर्दै आगामी दिनमा यस्ता गतिविधिलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गर ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ६ : १९ बजे