काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी मेडिकल तथा डेन्टल कलेज र अस्पतालहरूलाई नर्सलगायत स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिकसहितका सेवा सुविधा उपलब्ध गराउन निर्देशन दिएको छ ।
मन्त्रालयले एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन), नेपाल मेडिकल तथा डेन्टल कलेज एसोसिएसनलाई हालै एक परिपत्र गर्दै सरोकारवाला पक्षसँग गएको कात्तिक १५ गते भएको सहमति कार्यान्वयन गर्न आग्रह गरेको हो ।
उक्त सहमतिअनुसार सेवा सुविधा र न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुपर्ने भए पनि केही संस्थाले कार्यान्वयन नगरेको गुनासो आएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको जनाएको छ ।
सम्झौताअनुसार निजी मेडिकल कलेजहरूले आफ्नो शिक्षण अस्पतालमा कार्यरत नर्सलगायत स्वास्थ्यकर्मीलाई नेपाल सरकारको कम्तीमा पाँचौँ तहको सुरु तलब स्केल हालको ३४ हजार ७३० रुपैयाँ कात्तिक महिनादेखि नै दिने र अरू निजी तथा सामुदायिक अस्पताल तथा डेन्टल कलेजले हालको तलब ३४ हजार ७३० को ८० प्रतिशत रकम उपलब्ध गराउनुपर्ने भनिएको थियो ।










प्रतिक्रिया