काठमाडौं । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले रेडपाण्डा संरक्षणका लागि तीनै तहका सरकारबीच समन्वयात्मक रणनीति आवश्यक रहेको बताएका छन् ।
इलामको सन्दकपुर गाउँपालिका–४ कालपोखरीमा आयोजित ‘तेस्रो रेड पाण्डा महोत्सव’को उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पराजुलीले रेडपाण्डा पाइने क्षेत्रमा चोरी–निकासी रोक्न विशेष ध्यान दिनुपर्ने उल्लेख गरे । उनले रेडपाण्डाको वासस्थान, आहारको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
उनले भने, ‘रेडपाण्डा जहाँ देखिन्छ, त्यहाँ राज्यले चोरी निकासी हुन नदिन रणनीतिक रुपमा तीनै तहको सरकार लाग्नुपर्छ । यसको वासस्थानदेखि लिएर आहारलाई पनि हामीले संरक्षण गर्नुपर्छ । ९० प्रतिशत चाँही रेडपाण्डाले बाँसहरुलाई खाने गर्दछ । यसको क्षेत्रलाई पनि र बाँच्ने आधारहरुलाई कसरी संरक्षण गर्ने भन्ने कुरामा छुट्टै कार्यक्रम गर्ने कुरामा ध्यान दिनुपर्छ ।’
उनले रेडपाण्डाले मुख्यतः बाँस खाने भएकाले यसको आहारको स्रोत संरक्षण गर्न पनि उत्तिकै आवश्यक रहेको बताए ।
मन्त्री पराजुलीले रेड पाण्डाको संख्या वृद्धि गर्न कोशी प्रदेश सरकारले बजेटसमेत विनियोजन गरेको जानकारी दिए । उनले दीर्घकालीन संरक्षणका लागि स्पष्ट रणनीति तयार गरी प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।
उनले भने, ‘रेडपाण्डाको संख्या बढाउन जरुरी छ । संख्या बढाउन बजेट समेत छुट्याएको छ कोशी सरकारले । रेडपाण्डाको संख्या बढाउनको लागि आवश्यक रणनीति बनाउन जरुरी छ ।’
सन्दकपुर गाउँपालिकाको आयोजनामा सुरु महोत्सव चैत २० गतेदेखि २३ गतेसम्म आयोजना हुनेछ । दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षणसँगै पर्यटन प्रवद्र्धन गर्ने तथा स्थानीय पर्यापर्यटनलाई जोड्ने उद्देश्य सहित महोत्सव आयोजना गरिएको सन्दकपुर गाउपालिकाका अध्यक्ष तुलाराम गुरुङले जानकारी दिए
। आयोजक समितिका संयोजक तथा सन्दकपुर २ का वडा अध्यक्ष सनम राईले २०८० सालदेखि रेडपाण्डा महोत्सव आयोजना गरिएको बताए ।
२० चैत्र २०८२, शुक्रबार
46
Shares








प्रतिक्रिया