Logo

समाचार

उर्लाबारीमा विश्व अटिजम जनचेतना दिवस मनाइयो



मोरङ । मोरङको उर्लाबारीस्थित आकार फाउन्डेसनले विश्व अटिजम जनचेतना दिवस विभिन्न कार्यक्रमका साथ मनाएको छ ।

अप्रिल २ का दिन विश्वभर मनाइने यस दिवसलाई यस वर्ष ‘लाईट इट अप ब्लु’ नाराका साथ मनाइएको हो । सो अवसरमा आकार फाउन्डेसन तथा विशेष शिक्षा, मनोपरामर्श, तालिम तथा अनुसन्धान केन्द्रले अटिजम भएका बालबालिकालाई सम्मान गर्दै उनीहरूको प्रतिभा प्रस्फुटन गराएको थियो ।

कार्यक्रममा प्रस्तुत तथ्यांक अनुसार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वमा जन्मिने बालबालिकामध्ये करिब एक प्रतिशतमा अटिजम देखिन्छ । सोही आधारमा नेपालमा करिब तीन लाख बालबालिकामा अटिजम भएको अनुमान गरिएको छ ।

अटिजम स्नायु विकाससँग सम्बन्धित अवस्था हो, जसमा बालबालिकाले सामान्यभन्दा फरक व्यवहार देखाउने गर्छन् । एउटै क्रियाकलाप दोहो¥याउने, सामाजिक संवादमा कठिनाइ हुने, बोलाइ स्पष्ट नहुने, शब्दहरू दोहो¥याउने जस्ता लक्षण देखिन्छन् ।

विशेषज्ञहरूका अनुसार अटिजम १८ महिना देखि २ वर्षको उमेरमै पहिचान गर्न सकिन्छ । परिवारको सहयोग र विभिन्न थेरापीमार्फत व्यवहारमा सुधार ल्याउन सकिने बताइएको छ ।

अटिजमबारे सचेतना फैलाउने तथा प्रभावित बालबालिकाको विशेष स्याहारमा जोड दिन संयुक्त राष्ट्रसंघ को आह्वानमा हरेक वर्ष अप्रिल २ मा यो दिवस मनाइन्छ । सन् २००८ देखि औपचारिक रूपमा मनाउन थालिएको यो दिवसले अटिजम भएका व्यक्तिहरूको अधिकार, पहिचान र सामाजिक समावेशितामा जोड दिँदै आएको छ ।

कार्यक्रमका सभापति तथा आकार फाउन्डेसनकी अध्यक्ष पृसिमा थापाले पछिल्लो समय अटिजम विश्वव्यापी रूपमा चुनौतीपूर्ण स्वास्थ्य समस्याका रूपमा बढ्दै गएको बताइन् । उनले अभिभावकको बढ्दो उमेर पनि जोखिम कारक बन्न सक्ने उल्लेख गरिन् ।

उनका अनुसार अटिजम जीवनभर रहने विकासात्मक अपाङ्गता हो, जसले व्यक्तिको सामाजिक व्यवहार, सञ्चार र दैनिक जीवनमा प्रभाव पार्छ । समयमै पहिचान र हस्तक्षेप गर्न सके जटिलता कम गर्न सकिने उनको भनाइ छ ।

उर्लाबारी–५ का वडाअध्यक्ष रबिन लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उर्लाबारी–७ की वडाअध्यक्ष उर्मिला थापा, वडा सदस्य मनमाया तामाङ, रोटरी क्लब उर्लाबारीका अध्यक्ष सूर्यकुमार पौडेल, समाजसेवी सुरेश आचार्य, सीता गिरी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमअन्तर्गत नृत्य प्रस्तुति, अटिजम भएका बालबालिकाद्वारा निर्माण गरिएका सामग्रीको प्रदर्शनी तथा स्टलसहित दुईदिने मेला आयोजना गरिएको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  ९ : १० बजे