काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले २२ अर्ब रुपैयाँभन्दा बढीको संस्थापक सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा यथाशीघ्र सूचीकृत गर्न माग गरेको छ।
इप्पानले बुधबार सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी)लाई पत्राचार गर्दै २०८० माघदेखि आईपीओ निष्काशन गरेका ऊर्जा कम्पनीहरूको संस्थापक सेयर अभौतिकीकरण गरी नेप्सेमा सूचीकृत गर्न आग्रह गरेको हो।
धितोपत्र निष्काशन सम्बन्धी निर्देशिका अनुसार आईपीओ जारी भएपछि संस्थापक र साधारण सेयर एकैपटक सूचीकृत हुनुपर्ने व्यवस्था भए पनि सिडिएससीले साधारण सेयर मात्र अभौतिकीकरण गरेको र संस्थापक सेयर १४ महिनादेखि रोकिएको इप्पानको आरोप छ।
सिडिएससीले संस्थापक र साधारण सेयरका लागि छुट्टाछुट्टै अन्तर्राष्ट्रिय सेक्युरिटीज आइडेन्टिफिकेसन नम्बर (आईएसआईएन) अनिवार्य हुनुपर्ने अडान लिएपछि ३ सोलारसहित २२ ऊर्जा कम्पनीका २२ अर्ब १२ करोड रुपैयाँभन्दा बढीका संस्थापक सेयर सूचीकृत हुन नसकेको जनाइएको छ।
यसबाट झण्डै दुई दर्जन ऊर्जा कम्पनीका लगानीकर्ता प्रभावित भएको र लगानी वातावरणमा नकारात्मक असर परेको इप्पानले जनाएको छ।
ऊर्जा कम्पनीहरूको संस्थापक सेयरमा ३ वर्षको लकइन अवधि हुने र ऋण चुक्ता भएपछि मात्रै विक्री गर्न पाइने व्यवस्था हुँदाहुँदै पनि सूचीकृत प्रक्रियामा अवरोध हुनु लगानीकर्तामाथि अन्याय भएको इप्पानको भनाइ छ।
यसअघि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले समेत दोहोरो आईएसआईएन व्यवस्था कार्यान्वयन नगर्न सिडिएससीलाई आग्रह गरेको थियो। यस्तो व्यवस्था लागू भए विदेशी लगानी प्रभावित हुन सक्ने चेतावनी दिइएको थियो।
इप्पानका अनुसार आव २०८१/८२ मा ८ कम्पनीका ३ अर्ब ५२ करोड रुपैयाँ र आव २०८२/८३ मा १४ कम्पनीका १८ अर्ब ६० करोड रुपैयाँ बराबरका संस्थापक सेयर सूचीकृत हुन बाँकी छन्। हालसम्म २२ कम्पनीका कुल २२ अर्ब १२ करोड रुपैयाँभन्दा बढीका संस्थापक सेयर सूचीकृत हुन नसकेको इप्पानले जनाएको छ।










प्रतिक्रिया