Logo

Breaking News 1

विद्युत महसुल नतिर्नेको धमाधम लाइन काट्दै गौर वितरण केन्द्र, ९ करोड ५५ लाख बक्यौता उठाउन कठोर



रौतहट । नेपाल विद्युत प्राधिकरण, गौर वितरण केन्द्रले विद्युत महसुल बक्यौता असुलीका लागि आफ्नो अभियानलाई तीव्र पारेको छ । लामो समयदेखि महसुल नतिर्ने व्यक्तिगत ग्राहक, निजी व्यावसायिक प्रतिष्ठान तथा सरकारी कार्यालयहरूलाई लक्षित गरी प्राधिकरणले कठोर कदम चालेको हो ।

गौर वितरण केन्द्रका प्रमुख धिरेन्द्र यादवका अनुसार पटक–पटकको ताकेतालाई बेवास्ता गरेपछि एकैदिन राजदेवी, ईशनाथ, गरुडा र माधवनारायण नगरपालिकाको विद्युत लाइन काटिएको थियो । लाइन काटिएपछि राजदेवी, गरुडा र ईशनाथ नगरपालिकाले आंशिक बक्यौता बुझाएपछि मात्र पुनः विद्युत सुचारु गरिएको छ ।

प्राधिकरणका अनुसार गौर वितरण केन्द्र मातहतका गौर, राजदेवी, दुर्गा भगवती, माधवनारायण, गढीमाई, गरुडा, परोहा, राजपुर, ईशनाथ, यमुनामाई र वृन्दावन नगरपालिका (२ वडा) भित्रका विद्यालय, स्वास्थ्य संस्था र वडा कार्यालयहरूले महसुल तिर्न अझै आलटाल गरिरहेका छन् ।

हाल पहिलो चरणमा सडक बत्ती बाहेकका अन्य बक्यौता उठाउने कार्य भइरहेको गौर वितरण केन्द्रका प्रमुख यादवले बताए । उनका अनुसार साउन १ गतेदेखि चैत १६ गतेसम्मको अवधिमा ९ करोड ५५ लाख ८३ हजार ३१६ रुपियाँ बक्यौता रहेका कुल २ हजार ४५ जना ग्राहकको लाइन काटिएको हो । तीमध्ये १ हजार ७७२ ग्राहकले ५ करोड ५० लाख १५ हजार ३७७ रुपियाँ महसुल बुझाएर लाइन सुचारु गरिएको छ ।

कालोसूचीमा रहेका ६० जनाबाट २४ लाख ४९ हजार ६३५ रुपियाँ असुल गरिएको छ । साथै, विद्युत चुहावट (चोरी) मा संलग्न १२० जनालाई कारबाही गरी १५ लाख ७६ हजार १२४ रुपियाँ जरिवाना गरिएको उनले जानकारी दिए । कुनै पनि बहानामा विद्युत महसुल नबुझाउने कार्य मान्य हुने छैन। सरकारी निकाय होस् वा प्रभावशाली व्यक्ति, बक्यौता नतिरेसम्म लाइन काट्ने अभियान निरन्तर जारी रहने प्राधिकरण गौरले जनाएको छ। दिपेश पौडेल /रौतहट

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  १० : ३१ बजे