Logo

कर्पोरेट

ग्लोबल आइएमई बैंकद्वारा एआई/एमएल ह्याकाथनको दोस्रो संस्करण घोषणा, आवेदन खुला



काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेड ले प्रविधि प्रवर्द्धन र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले एआई/एमएल ह्याकाथनको दोस्रो संस्करण आयोजना गर्ने भएको छ।

बैंकका अनुसार “ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन २०२६” आगामी मे २९ देखि ३१ सम्म सञ्चालन हुनेछ। प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक, अनुसन्धानकर्ता तथा प्रविधि क्षेत्रका पेशाकर्मीका लागि आवेदन खुला गरिएको छ। आवेदन मे ४, २०२६ भित्र बैंकको आधिकारिक वेबसाइटमार्फत दिन सकिनेछ।

ह्याकाथनमा सहभागी टोलीहरूले अटोनोमस क्रेडिट तथा लेन्डिङ्ग प्रणाली, एजेन्टिक फ्रड डिटेक्शन, मल्टिलिङ्गुअल भ्वाइस बैंकिङ सहायक र एआई-आधारित नेटवर्क सुरक्षा प्रणाली (आईडीएस) जस्ता विषयमा आधारित अवधारणाहरू प्रस्तुत गर्नुपर्नेछ।

बैंकले यसअघि गत वर्ष पहिलो पटक आयोजना गरेको ह्याकाथनमा उल्लेखनीय सहभागिता देखिएपछि दोस्रो संस्करण ल्याइएको जनाएको छ। प्रतियोगिताबाट डिजिटल बैंकिङ सेवामा नवप्रवर्तन र सम्भावित चुनौतीहरूको समाधान खोज्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

उत्कृष्ट टोलीलाई नगद पुरस्कारका साथै बैंकसँग सहकार्य गर्ने अवसर प्रदान गरिनेछ।

बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरिसकेको छ, जसमा ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’ तथा ‘बेष्ट बैंक नेपाल २०२४ र २०२५’ लगायत रहेका छन्।

हाल बैंकको देशभर ७७ जिल्लामा शाखा सञ्जाल रहेको छ। ३५२ शाखा, ३७९ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन काउन्टर तथा तीन विदेशी प्रतिनिधि कार्यालयमार्फत १,००० भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ। साथै, विभिन्न देशबाट रेमिट्यान्स सेवा समेत उपलब्ध गराउँदै आएको छ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ६ : २५ बजे