हेटौंडा। बोधि श्रवण धर्म संघ–नेपालको आयोजनामा ‘२१ औँ विश्वशान्ति महा मैत्री बोधि मार्ग दर्शन/मैत्री धर्म आध्यात्मिक अनुष्ठान कार्यक्रम–२०८२’ हेटौंडामा आयोजना हुने भएको छ।
कार्यक्रम चैत २६ देखि ३० गतेसम्म हेटौंडा उपमहानगरपालिका–४ स्थित लोकतान्त्रिक (हुप्रा) चौरमा सञ्चालन हुने आयोजकले जनाएको छ। अनुष्ठान दैनिक बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म चल्नेछ।

आयोजकका अनुसार कार्यक्रममा ध्यान, साधना, प्रवचन तथा ‘मैत्री धर्म ११ शीलहरू’को अभ्यास गराइनेछ। कार्यक्रममा समाजमा शान्ति, करुणा र सद्भाव प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ।
‘मैत्री धर्म’मार्फत सबै जीवप्रति मैत्रीभाव, करुणा, अहिंसा र सत्य मार्ग अनुसरण गर्न प्रेरणा दिइने बताइएको छ। साथै ‘बोधि मार्ग दर्शन’ले नैतिकता र आध्यात्मिक उन्नतिमा जोड दिने विश्वास आयोजकको छ।
कार्यक्रममा प्रस्तुत गरिने ‘मैत्री धर्म ११ शीलहरू’मा विभेद नगर्ने, सबै धर्म र आस्थाको सम्मान गर्ने, असत्य र हिंसाबाट टाढा रहने, प्राणी हिंसा नगर्ने तथा राष्ट्रको सम्मान गर्ने लगायतका आचरण समेटिएका छन्।
संघका अनुसार, अनुष्ठानलाई धार्मिक गतिविधिसँगै आध्यात्मिक अभ्यासको अवसरका रूपमा लिइएको छ। आयोजकले सर्वसाधारणलाई परिवारसहित सहभागी हुन आह्वान गरेको छ ।










प्रतिक्रिया